दक्ष डकर्मी बन्न परीक्षा

गुगलपाटी संवाददाता
२१ चैत्र २०७४ १३:५२

मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिले लिएको परीक्षामा सहभागी भएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरी भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धि ५० दिने तालिममा सहभागी भएका उनीहरुले सरकारबाट मान्यता प्राप्त दक्ष डकर्मी बन्नका लागि परीक्षा दिएका हुन् ।
बकैया ५, छतिवन, श्रीपुर र बकैया ७ छतिवन हातीखोलाका तालिम प्राप्त १६ जना डकर्मी परीक्षामा सहभागी भएका हुन् । तालिम लिएका डकर्मीहरुले आधिकारिक प्रमाणपत्र प्राप्त गर्नका लागि आफूले सिकेको शिप प्रयोगात्मक रुपमा प्रस्तुत गर्नुका साथै घर निर्माण सम्बन्धि विभिन्न मौखिक प्रश्नको उत्तर दिए । परीक्षामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिका प्रतिनिधी सुजन भट्ट, गाउँपालिकाका सव इञ्जिनियरहरु भुपेन्द्र यादव, निशा डङ्गौराले सहभागीको परीक्षा लिएका थिए ।
बाल कल्याण समाज मकवानपुरको आयोजना तथा मर्सिकोर नेपालको सहयोगमा सञ्चालन गरिएको तालिममा सहभागी भएका डकर्मी आफूले सिकेको शिपको मान्यता पाउँन परीक्षामा सहभागी बनेका हुन् । परीक्षामा सहभागी बनेर प्रमाणपत्र प्राप्त गरेपछि पेशागत रुपमा अघि बढ्नका लागि अवसरहरु प्राप्त हुने उनीहरुको विश्वास छ । सीप परिक्षण केन्द्रले लिएको परीक्षामा सहभागी भएका बकैया ७, छतिवन, हात्तिखोलाका सञ्जीव राई अब सरकारले आफ्नो क्षमताका आधारमा दिने सर्टिफिकेटले रोजगारीका अवसर दिने बताउँछन् । ‘विना तालिम घर निर्माणका काम गरियो तर तालिमले परिपक्व बनाउँदै अहिले स्वरोजगार हुने अवसर दिलाएको छ ।’
परीक्षामा केन्द्राध्यक्षको भूमिका निर्वाह गरेका बालकल्याण समाज मकवानपुरका लेखा अधिकृत केशव दाहालले गाउँमा ५० दिने तालिममा सहभागी भएका २० जनामध्ये १६ जनाले परीक्षामा सहभागिता जनाएको बताए ।
भूकम्पीय पुनर्लाभ परियोजना अन्तर्गत तालिममा सहभागी भएका डकर्मीहरु अहिले गाउँमै स्वरोजगार हुन थालेका छन् । तालिम लिएका मध्ये अधिकांश गाउँमै पुननिर्माणको काममा व्यस्त बनेका छन् । ‘पहिले खासै सीप नहुँदा कसैले काम गर्न बोलाए हुन्थ्यो भन्ने लाथ्यो । तालिम प्राप्त मिस्त्रि सञ्जीव राई भन्छन्, ‘अहिले काम गरेर भ्याई नभ्याई छ । ’ विगतमा दैनिक पाँच रुपियामा काम गर्दै आइरहेका उनीहरु तालिम प्राप्त डकर्मी बनेपछि एक हजार रुपिया ज्याला पाउँने भएका छन् ।