उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै थाइल्याण्डकी राजकुमारीले मागिन क्षमा

गुगलपाटी संवाददाता बैङ्कक
१ फाल्गुन २०७५ ११:३०

थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन् ।

शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गरेकी थिइन् ।

उनको उम्मेदवारीका बारेमा उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए ।
आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नवित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलिय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राखेका थिए।

राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो । राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो ।

पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उहाँकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो ।

अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनले अहिले निर्वासनमा छन् भने देश बाहिरैबाट उहाँले थाई रक्षा चार्ट पार्टी संचालन गरिरहेका छन् ।
थाइल्याण्डमा आउदो मार्च २४ का दिन हुन आम निर्वाचन हुन लागेको छ । – रासस/एएफपी