दक्षिण कोरियामा मकवानपुर उद्योग बाणिज्य संघले गर्दैछ यस्तो सम्झौता

गुगलपाटी संवाददाता दक्षिण कोरिया,वैशाख ३१
३१ बैशाख २०७५ १५:१५

मकवानपुर उद्योग वाणिज्य संघको टोलीले सोमबार दक्षिण कोरियाको खाङसाङनाम–दो शहरको खाङनाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजीको भ्रमण गरेका छन् । कृषि क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने उदेश्यले दक्षिण कोरिया भ्रमणमा गएको संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वको टोलीले उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।
कृषिमा आधुनिकीकरण गर्नका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिन सहजीकरण गर्ने विषयमा युनिभर्सिटीसंग छलफल भएको भ्रमण टोलीका सदस्य तथा मकवानपुर उद्योग बाणिज्य संघका सचिव विष्णुगोपाल मर्हजनले बताए । कृषि क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न भ्रमण सफल हुनेमा आसावादी रहेको संघका अध्यक्ष कृष्ण कट्टवालले बताए ।
संघका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरिया मै पठाई तालिम प्रदान गराउने र कोरियाली प्रशिक्षकलाई नेपालमा नै बोलाएर नेपाली कृषकहरुलाई तालिम प्रदान गराउनेलगायतका विषयमा छलफल भएको बताए । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा पनि छलफलको क्रममा उठेको उनले जानकारी दिए । तत्कालै कागजात तयार गरी दीर्घकालीन कार्ययोजनाकालागि सम्झौता गर्ने तयारीमा रहेको भ्रमण टोलीका अर्का सदस्य एवम् संघका कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाले बताए ।
छलफल कार्यक्रममा खाङनाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजीका प्रोफेसर साङ ह्योक पार्कले आगामी दिनमा गरिने सहकार्यले दुवै देशबीच सुमधुर सम्बन्धको विकासमा टेवा पुग्ने बताएका छन् । किम्हे माईग्रेन्टका अध्यक्ष यज्ञराज सुवेदीले छिट्टै हुने यो सम्झौताले नेपाली कृषिमा प्रत्यक्ष सहयोग पु¥याउने आशा लिएको सचिव एवम् प्रवक्ता काव्यमणि अधिकारीले बताए । भ्रमणमा रहेको उक्त टोली आठ दिन दक्षिण कोरियामा रहनेछन् ।