तेस्रो बाग्मती गोल्डकपको उपाधी जावलाखेललाई
गुगलपाटी संवाददाता‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लव ललितपुरले सिजनको पहिलो तेश्रो बागमती गोल्डकपको उपाधी उचालेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा आईतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लव काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख र ट्रफ्री उचालेको हो ।उपविजेता हिमालयन शेर्पाले नगद ३ लाख, शिल्ड र मेडलमा चित्त बुझायो ।
जावलाखेलका ड्यारी जुनियरले पहिलोहाफको ईन्जुरी समयमा ४९ औं मिनेटमा गरेको गोलले जावलाखेलललाई उपाधी जिताएको हो । दोस्रो हाफमा निक्कै आक्रामक खेल प्रद्धर्शन गर्दै हिमालयन शेर्पाले खेललाई बराबरीमा ल्याउन धेरै पहल गरेका थिए ।खेलको अन्त्यतिर ईन्जुरी समयमा जावलाखेलका तर्फबाट भएको गोललाई फउल भएको भन्दै रेफ्रिले मान्यता दिएनन् । खेलमा हिमालयनका खेलाडीहरुको प्रहारलाई जावलाखेलका गोल रक्षक अरुण ब्लोनले बचाएका थिए ।
जावलाखेल युथ क्लबका बिदेशी खेलाडी यडामा डुम्बीया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५० हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक जावलाखेल युथ क्लबका अरुण ब्लोन, उत्कृष्ट फरवार्ड जावलाखेल युथ क्लबका सुजित बुढाथोकी, उत्कृष्ट मिडफिल्डर जावलाखेल युथ क्लबका सुरज ठकुरी , उत्कृष्ट प्रशिक्षक जावलाखेल युथ क्लबका किशोर केसी र हिमालयन शेर्पाका मान बहादुर तमाङ्ग उत्कृष्ट डिफेण्डर हुदै जनही १० हजार प्राप्त गरे । फाईनल खेलमा जावलाखेल युथ क्लबका दिलेन मोक्तान म्यान अफ दी म्याच हुँदै ५ हजार रुपैंया प्राप्त गरे । उपाधी जितेमा जावलाखेलले ६ लाख रुपैंया पुरस्कारसँगै थप ४ लाख बोनस पनि पाउने भएको छ । ललितपुर महानगरपालिकाले फिफा मान्यताप्राप्त प्रतियोगिता जितेमा जिल्लाभित्रका फुटबल क्लबलाई ४ लाख रुपैंया प्रदान गर्ने घोषणा गरेको छ ।
बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतले खेलाडीहरुलाई ट्रफी, नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा ५ वटा ‘ए’ डिभिजन, प्रदेश र जिल्लास्तरीयसहित १० टिमको सहभागिता रहेको थियो । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढी खेलकुद विकास समिति सिन्धुलीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लब काठमाडौंले हात पारेको थियो ।