सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न: मन्त्री अर्याल
गुगलपाटी संवाददाताकाठमाण्डौः भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् ।
शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो ।
नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टोलीले सुझाव पेस गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पुर्याएको उनले बताए । पहिलो पटक नक्साको काम लाइडर नापीजस्ता आधुनिक प्रविधि प्रयोगको गरिएको छ ।
सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वयनको चरणमा छ । भूमि मन्त्रालयबाट अर्थ मन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उनले दिइन् । यसका लागि आयोगमात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडि बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताइन् ।
सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताइन् । २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याउको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताइन् ।
हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ । सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताइन् । वित्तीय कारोबारसँग जोडिएका विषय पनि संशोधनमार्फत सम्बोधन हुने उनले बताइन् ।
गुठी विधेयकसमेत समेटेर एकीकृत भूमि ऐन ल्याउन लागिएको उनले बताइन् । पछिल्लो समय पटक(पटक सरोकारवालासँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उनले बताइन् । ‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ । उपत्यकालाई केन्द्रित गरेर भोलि समस्या नआओस् भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ । एकीकृत कानुन निर्माण प्रक्रियामा छौं’, उनले भनिन् ।
उनले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्य व्यक्तिहरुलाई नियुक्त गरिएको बताइन् । लामो समय सहकारी क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरु समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतीतर्फ ११ औं तहको सेवा पूरा गरेको र चार्टर्ड एकाण्टेन्ट गरी दुई जना नियुक्त गर्न बाँकी रहेको उनले बताइन् । आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएका व्यक्तिहरु नियुक्त गरिएको उनले बताइन् ।
स्रोतः कान्तिपुर