चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो – नेपालको नियम–कानुन कडाइसाथ पालना गर्नुस्

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०६:४७

 काठमाडौँ — सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ ।

चिनियाँ नागरिकले आफ्नो मुलुक फर्कन पाउनु पर्‍यो भन्दै शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेटअगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप हुँदा केही चिनियाँ नागरिक र प्रहरी घाइते भएका थिए । प्रहरीले उक्त स्थानबाट करिब ४५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने प्रहरीमाथि हातपात गर्नेविरुद्ध मुद्दासमेत लगाउन लागेको छ । चिनियाँ नागरिकहरु शुक्रबार बिहान चिनियाँ दूतावासअघि पुगेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो ।

प्रवक्ता लुअनका अनुसार चिनियाँ पक्षले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्नु पर्ने भन्दै आइरहेको छ । ‘चिनियाँ नागरिकहरुलाई कानुन र तर्कसंगत कुराहरुलाई व्यक्त गर्न भनेको छ,’ उनले भनेका छन् ।

प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको बताएका छन् । ‘अनावश्यक कुरालाई छाडी अन्तर्राष्ट्रिय हवाई उडान नखुल्दासम्मको अवस्थासम्म चिनियाँ नागरिकलाई पर्खन भनिएको छ,’ उनले भनेका छन् । साथै, चिनियाँ दूतावासले नेपाली पक्षलाई चिनियाँ नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न अनुरोध गरेको छ ।

दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको जनाएको छ ।

‘त्यसका लागि हामी नेपालको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार विभाग, नेपाल पुलिस र अन्य सहयोग गर्ने विभागहरुलाई पनि धन्यवाद दिन चाहन्छौं,’ प्रवक्ता लुअनले भनेका छन् ।

उनले सीमित उडानका कारण धेरै चिनियाँहरु अझै नेपालमा अड्किएको बताएका छन् । नेपालले मे ३१ सम्मको लागि अन्तर्राष्ट्रिय उडानलाई रद्द गरेको र चिनियाँहरुले विभिन्न माध्यमबाट घर फर्कनका लागि आग्रह पनि गरिरहेको बताएका छन् ।

‘हामी नेपाली पक्षसँग सम्पर्कमा भइरहेनै छौं । यो संकटको घडीमा हामी आशा गर्न सक्छौं कि चीन र नेपालले एक अर्कालाई बुझ्न सक्छन् र साथमा लकडाउनमा आउन सक्ने विभिन्न घटनाहरुलाई सम्हाल्न सक्छौं,’ उनले भने ।