वनकरिया समुदायका बालबालिका शिक्षाको पहुँचमा

गुगलपाटी संवाददाता
१७ चैत्र २०७९ ०३:२८

हेटौंडाः वनकरिया मकवानपुर जिल्लामा मात्र बसोबास गर्ने जाति हो । वनकरियाहरु मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधाप बस्ने गदर्छन् । उक्त वस्तीमा करिब साढे २ दशकबाट छाप्रो बनाएर बस्न थालेका हुन् । उक्त बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जंगलमा बस्दथे भने हाल २१ घरधुरीमा ८३ जनाको संख्यामा वनकरियाहरु रहेको छ ।
एकदशक भन्दा पहिला वनकरिया बस्तीबाट स्कुल पढ्न जाने दुई जना मात्र थियो ।

उनीहरुको सबैभन्दा बढी रुचाउँने खाना जंगलको रातो कमिलालाई भुटेर बनाइएको अचार हो । वनकरिया समुदाय वनदेवता माथि विश्वास गर्छन् । वनमा कुरिलो र खरेटो खोजेर गाउँमा ल्याएर बेच्छन् । सरकारद्वारा २०५५ सालमा जनजाति घोषित ६१ जातिमा वनकरियाहरू पनि पर्छन् । जंगलमा ३ सयदेखि ४ सय जनासम्म रहेको थियो । गाउँको मान्छेले दिएको पुरानो कपडा लाउँने भात दशैमा मात्र खाना पाउँने बसिरहेको ठाउँमा मान्छे मरेमा अर्को स्थानमा सर्ने खरेटोसंग आँटाको साट्ने तेल कहिलेकाँकी मात्र खाने बाँसको ढुंग्रोमा पकाएर खाने गरेको उनिहरुले सुनाए ।

केही दशक अघिसम्म चुरे जंगलमै बसेर जंगलमा कन्दमुल खोजेर, माछा मारेर र बन्यजन्तुको शिकार गरेर जीविका चलाउने वनकरियाहरुको जीवनशैली फेरिएको छ । विस्तारै वनबाट वस्तीमा घर बनाएर बस्न थालेका वनकरियाहरु हरेक क्षेत्रमा अघि बढ्दै गईरहेका छन् । उनिहरु खेतिपाति पनि गरिरहेका छन् । उनिहरुलाई खेतिपाति गरेर ३ महिनालाई खाना पुगेको र बाँकी ज्याला मजदुर गरेर जिवन चलाउँदै आईरहेको उनिहरु बताउँछन् ।
वनकरियाहरु शिक्षाको क्षेत्रमा पनि बिस्तारै अघि बढिरहेका छन् । अहिलेसम्म २ जना बनकरिया चेलीहरुले एस.एल.सी उत्तिर्ण गरेका छन् । तिनै मध्ये एक हुन सन्तोषी वनकारिया, उनी अहिले जेटिए कोर्ष सकाएर आफ्नै पेसा व्यवसायमा लागेकी छिन् । वनमा जन्मेर वनको कन्दमुल खाएर हुर्केकी सन्तोषीको लागि शिक्षा हाँसिल गर्न र यहाँ सम्म आईपुग्न बिश्वयुद्ध जित्नु जत्तिकै गाह्रो भएको थियो । उनी कयौँ दिन भोक भोकै स्कुल गएकी र पैसा नभएर झण्डै एस.एल.सी. परीक्षा दिन नपाएको दुखद दिनहरु सम्झदै भावुक हुन्छिन । उनले आफुले सिकेका र जानेका कुरा आफुमा मात्र सिमित नराखेर अरुलाई वाढ्ने गरेकि छिन् । जेटिए जागिर छोडेर अहिले उनले गाउँका वनकरिया वालवालिकाहरुलाई विहान र वेलुका पढाउने गरेकि छिन् ।
वस्ती माझमा रहेको सामुदायिक भवनमा राखेर उनीहरुलाई पढाउने गरेकि छिन् । शिशु कक्षादेखि १० कक्षासम्मलाई उनले पढाउँछिन । २९ जनालाई उनले पढाउदै आएको हो । वनकरिया वालवालिकालाई पढाए वापत आदीवासी राष्ट्रिय जनजाती महिला मंचले केही पारिश्रमिक दिने गरेको छ । वालवालिकालाई कापी कलम र शैक्षिक सामग्रीहरुले सहयोगीदाताहरुले दिने गरेका छन् । उक्त वस्तीमा वनकरिया समुदायको २१ घरधुरीमा ८३ जना रहेका छन् । सरकारले वनकरिया समुदायलाई विकास गर्नका लागि प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेका छन् । उक्त भत्ताले उनीहरुको जीवनमा सुधार आएको छ ।