पर्यटकीय ‘हब’ बन्दै हेटौंडा

सुमन दुलाल हेटौंडा
२६ जेष्ठ २०७९ ०८:०७

एक दशक अघिसम्म हेटौंडाको व्यवसायीक पर्यटकीय क्षेत्र भन्ने बित्तिकै हेटौंडा–११ नवलपुरको सहिद स्मारक मात्र नाम आउँथ्यो । जिल्लामै स्मारक बाहेक व्यवसायिक पर्यटकीय क्षेत्र नै थिएनन् भन्दा पनि फरक पर्दैनथ्यो ।
तर आज हेटौंडाको स्मारक मात्र पर्यटकीय क्षेत्र नभई दर्जन बढि पर्यटकीय स्थल बनेको छ । पछिल्लो समय पर्यटनले स्थान विशेष ठाउँलाई चिनाउने मात्र नभई आर्थिक क्रियाकलापलाई पनि अघि बढाउन सक्छ भन्ने उदारण हेटौंडा–११ नवलपुरको सहिद स्मारक बनेको छ । यहाँ पछिल्लो वर्षहरुमा आन्तरिक पर्यटक सहित बाह्य देशका पर्यटकको बढी चाप देख्न सकिन्छ । विशेष गरि, छिमेकी देश भारतका पर्यटकको रुचीको गन्तब्य सहिद स्मार बन्दै गएको छ ।
पारिवारिक भेटघाट, शान्त वातारणमा पिकनिक सहित रमझम गर्न स्मारकलाई रोज्ने गरिएको छ । स्मारकको परिकल्पनाकार संस्थापक तत्कालिन हेटौंडा नगरपालिकाका मेयर, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल हुन् । २०४६ सालको राजनीतिक परिर्वतनपछि २०४९ भएको स्थानीय निर्वाचनपछि तत्कालिन हेटौंडा नगरपालिकाले राष्ट्रको निमित्त सहिदहरुले गरेको योगदानलाई जीवन्त राख्न र सहिदहरुले निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै नयाँ पुस्ताहरुमा सहिदका आर्दशका बारेमा बोध गराउने उद्देश्यले सहिद स्मारको निर्माणमा सहयोग गरेको थियो । हाल स्मारकमा पार्कमा नेपालको नक्सा सहितको प्रतिमा, प्रजातान्त्रिक पार्क, चिडिया घर, बाल उद्यान, पौडी पोखरी, झोलुङ्गे तथा आकाशे पुल, पिकनिक स्थल,भ्यु टावर,विवाह मण्डप, पर्यटक सूचना केन्द्र लगाएतका संरचनाहरु रहेका छन् ।
हाल स्मारकलाई सहिदहरुको पार्क मात्र नभई प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, लौहपुरूष गणेशमान सिंह तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पार्क भनेर पनि चिनिन्छ । उक्त पार्कमा चारै नेताहरुको शालिक सहित जनताको बहुदलीय जनवादको सिद्धान्तकको प्रतिपादक नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको शालिक समेत रहेको छ । स्मारकले हेटौंडालाई मकवानपुरमा मात्र नभई देशमै चिनाउने काम गरिरहेको छ ।
सहिद स्मारकले मात्र हैन अहिले हेटौंडालाई धेरै पर्यटकीय क्षेत्रहरुले चिनाईरहेको छ । हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणी धाम, हेटौंडा–१५ को चुरियामाई मन्दिर, हेटौंडा–१७ को सालक पार्क र हेटौंडा–१८ को हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडा लगाएतका पर्यटकीय क्षेत्रहरुले हेटौंडालाई चिनाईरहेको छ ।


बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिका पर्यटकीय हबको रुपमा विकास भईरहेको छ । पछिल्लो वर्षहरुमा पर्यटन विकासको लागि विभिन्न गन्तव्यको पहिचान गर्दै हेटौंडा उपमहानगरपालिकाले विभिन्न कामको सुरुवात गरेको छ ।
२०७२ मा संविधान जारी भएपछि २०७४ मा सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित भएका हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले तत्कालिन ५ गाविस (बसामाडी, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी) र हेटौंडा नगरपालिकाबाट बनेको हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा ५ वर्षे कार्यकालमा हेटौंडाको पर्यटकीय विकासको लागि उल्लेखिए कामहरु गरेको देखिन्छ ।
निवर्तमान मेयर हरिबहादुर महत र हालको मेयर तत्कालिन उपमेयर मिनाकुमारीको कार्यकालको पहिलो ५ वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पुराना संरचनाको संरक्षण तथा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम भएको पाईएको छ । महत र लामाको ५ वर्षे कार्यकालमा हेटौंडाको पर्यटन विकासमा करिब ४ करोडको काम भएको छ । १९ वटै वडाहरुमा पर्यटकीय गन्तव्यको पहिचान देखि साना तथा ठूला पार्क निर्माण,मन्दिर तथा गुम्बाहरुको र भौतिक संरचना निर्माणको काम भएको छ ।
उपमहानगरपालिकाले २०७५/७६/७७ मा पर्यटन क्षेत्रको विकासका लागि क्रमशः २२ लाख, ८६ लाख र २ करोड ७२ लाख खर्च गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । निर्वाचित भएको वर्ष २०७४ मा भने नीतिगत समस्याले पर्यटनको क्षेत्रमो कुनैपनि काम हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले हेटौंडाको पर्यटनको विकासका लागि सालक पार्क, गुम्बाडाँडाबाहेक भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा हेटौंडा–१० मा २०७७÷७८ मा १० लाख ६२ हजार बजेट छुट्टाएर टोनी हेगन पार्क निर्माणको सुरुवात, हेटौंडा–१४ को ड्राइभर डाँडामा भ्यू टावर र होमस्टे सञ्चालनको लागि कामको सुरुवात गरेको छ ।
ड्राइभर डाँडामा उपमहानगरपालिकाले २०७६ बाट पहिलो वर्ष ९ लाख ८९ हजार र दोस्रो बर्ष २०७७ मा ९ लाख ८९ हजार बजेट छुटएर भ्यु टावर निर्माणको काम गरेको थियो । यस्तै होमस्टेको लागि पहिलो वर्ष ७ लाख ८८ हजार र दोस्रो वर्ष ५ लाख छुट्टाएर काम गरेको थियो । दुई वर्ष कोभिड १९ को कारण काम रोकिदा दुबै निर्माण काम सम्पन्न हुन नसकेको र अबको एक वर्ष भित्र काम सम्पन्न हुने हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काले बताए । उनले वडामा विभिन्न विकासका कामहरुसंगै पर्यटन प्रवद्धनको कामहरु पनि हुँदै गरेको बताए ।
यसैगरि,उपमहानगरपालिकाले हेटौंडा–१२ मा पर्यटन प्रवद्धनको लागि विद्रोहका नायक नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै लखन बाटिका स्मृति पार्क निर्माणमा सहयोग समेत गरेको छ । उक्त बाटिकामा आर्थिक वर्ष २०७७/७८ मा ४ लाख ७६ हजारको काम गरेको हो । विकास निर्माणका काम संगै पर्यटन प्रवद्धन गर्ने उदेश्यले हेटौंडा–१२ मा विभिन्न मन्दिर,गुम्बाहरुसहित वडामा विभिन्न पार्क तथा पिकनिक स्पोर्टहरु निर्माण भईरहेको वडा अध्यक्ष ललित घलानले बताए । उनले यसअघि ५ वर्षे कार्यकालमा पनि विकासका कामसंगै पर्यटन प्रवद्धनको काम भएको बताउँदै अबको ५ वर्षे कार्यकालमा पनि पर्यटनको क्षेत्रमा काम हुने बताए । उनले आफ्नो वडा राष्ट्रिय निकुञ्जसंग जोडिएको बताउँदै निकुञ्जसंगको सहकार्यमा पर्यटकको लागि निकुञ्जमा सडक ट्रयाक खोलेर निकुञ्ज अवलोकन गर्न सकिने वातावरण मिलाउने योजना रहेको बताए ।
यि हुन् हेटौंडाको चर्चित पर्यटकीय क्षेत्रहरुः
पर्यटक तान्दै गुम्बाडाँडा
हेटौंडा बजारको बुद्धचोकबाट पूर्व १७ किमिको दूरीमा रहेको हर्नामाडी कला प्रतिस्ष्ठान गुम्बाडाँडामा मदन भण्डारी लोकमार्ग सडक खण्डबाट सवारी साधन मार्फत करिब आधा घण्टामै पुग्न सकिन्छ ।
२०६९ साल मंसिरमा गुम्बाडाँडा परिसरमा भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाले उक्त क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य मूर्ति पार्कको रुपमा परिचित गरायो ।
उक्त कार्याशालामा सहभागी ६ देशका २३ कलाकारले ढुंगामा कुदि मूर्ति बनाएका थिए । तिनै मूर्ति हालसम्म पनि उक्त पार्कमा राखिएका छन् । मूर्तिले पार्कको सौन्दर्य बढाएको छ ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ स्थित गुम्बाडाँडाको पर्यटन प्रवद्धनको लागि विभिन्न संरचना निर्माण गर्न सहयोग गरेको छ । उपमहानगरपालिकाले उक्त क्षेत्रमा पार्क निर्माण तथा पर्यटकीय क्षेत्र पूर्वाधार विकासको लागि २०७५,२०७६ तथा २०७७ मा क्रमशः ५ लाख,१७ लाख र ४१ लाख लगानी गरेको छ । पार्कमा हालै प्रवेशद्वार,बगैचाँ,काठको ठेकीको लागि प्रख्यात मकवानपुरलाई संकेत गर्ने ठेकीको प्रतिमा र ढुंङ्गाको २५ फिटको बुद्धको प्रतिमा निर्माण गरिएको छ । धार्मीक स्थल संगै कला पार्कको रुपमा विकास हुँदै गरेको उक्त पार्क पछिल्लो वर्षहरुमा पर्यटकको आकषर्णको केन्द्र बन्दै गएको छ । पार्कमा खानेपानी,शौचालय र सहजै पुग्न सकिने हुँदा पारिवारिक भेटघाट,पिकनिक गर्न र रमाईलोको लागि अहिले गुम्बाडाँडा जो कोहिको लागि पनि रोजाईको केन्द्र बन्दै गएको हो । पछिल्लो दिनहरुमा यहाँ सार्वजनिक विदाको दिन बाहेक पनि अन्य दिनहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखिय सहभागिता देख्न सकिने हेटौंडा १८ का वडा अध्यक्ष अनिल बाँनिया बताउँछन् । उनले हेटौंडा १८ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि अन्य विकासका कामसंगै पर्यटन क्षेत्रको विकासमा पनि कामहरु भईरहेको बताए । वडा अध्यक्ष बाँनियाले वडाले पर्यटन प्रवद्धन गर्न गुम्बाडाँडासहित हेटौंडा १८ को गुप्तेश्वर महादेव (गुफाथान जलाथान) र फुर्केचौरको गोरक्षश्वर ताललाई दिर्घकालिन योजनासहित अघि बढाईने बताए ।
पर्यटकको केन्द्र बन्दै सालक पार्क
हेटौंडाको नयाँ पर्यटकीय गन्तब्यको रुपमा हेटौंडा–१७ र मकवानपुरगढीको सिमना स्थित सालक पार्क परिचित छ । हेटौंडा बजारबाट हेटौंडा काठमाण्डौ जोड्ने कान्तिलोकपथ अन्तर्गत ७ किलोमिटर पूर्वमा रहेको सालक पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।
२०७४ सालको विश्व वातावरण दिवसको अवसमा सालक पार्क निमार्ण थालनी गरिएको पार्क हालसम्म पनि निर्माणधिन अवस्थामा छ । विश्वमा दुर्लभ मानिएको संरक्षित जनावर सालकको संरक्षण गर्ने उद्धेश्यले उक्त पार्क निर्माण गरिएको थियो । उक्त सालक पार्कलाई पर्यटकीय क्षेत्रको विकास गर्न हेटौंडा उपमहानगरपालिकाले पूर्वाधार विकास गर्न २०७५ मा ४ लाख ४१ हजार र २०७६ मा ४ लाख ८४ हजार लगानी गरेर पर्यटन प्रवद्धनको काम गरेको छ । हाल पार्कमा सालकको प्रतिमा,बगैचा,देवीदेवताको मूर्ति,खानेपानी,शौचालय तथा पिकनिक स्थल समेत निर्माण गरिएको छ ।
कुष्माण्ड सरोबर त्रिवेणी धाम र भुटनदेवी मन्दिर
हेटौंडा बजारबाट नजिकै रहेको प्रसिद्ध धार्मीक पर्यटकीय स्थल हो कुष्माण्ड सरोबर त्रिवेणी धाम र भुटनदेवी मन्दीर । हेटौंडा–९ मा रहेको कुष्माण्ड र १० मा रहेको भुटनदेवी हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो । राप्ती र कर्रा खोलाको संगमस्थलमा रहेको त्रिवेणी धाममा पछिल्लो सयम नयाँ पर्यटकीय गन्तव्यको विकास हुँदै छ । १ सय ८ धारा सहित विभिन्न धार्मिक मठमन्दीर रहेको यँहा पोखरीमा डुंगा सयरको समेत व्यवस्था रहेको छ । पर्यटन प्रबद्धनको लागि यहाँ करिब एक दशकमा धेरै संरचनाहरुको विकास भएको छ ।
पछिल्लो वर्षहरुमा हेटौंडा उपमहानगरपालिकाले त्रिवेणी धामको पर्यटन विकास लागि बजेट छुट्टाएर काम गर्दै आएको छ । उपमहानगरले आर्थिक वर्ष २०७७÷७८ मा त्रिवेणीधामको स्तरउन्नतीको लागि १९ लाख ८२ हजारको काम गरेको थियो । साँडे ७ बिगाह क्षेत्रफलमा फैलिएको त्रिवेणी धाममा हालै कुष्माण्ड भगवतीलाई महाभारतका पाँच पाण्डवले परिक्रमा गरिरहेको देखिने आकर्षक शिश महल समेत निर्माण गरिएको छ । कुष्माण्डमा देशभरका मन्दिरको मूर्तीहर राखिनुको साथै दर्शन गर्न सकिने व्यवस्थापन गरिएको छ । धार्र्मीक पर्यटकहरुको लागि कुष्माण्ड र भुटनदेवी मात्र नभई हेटौंडा यहाँ हेटौंडा–१ को भैरवडाँडा स्थित पाथिभार मन्दिर,हेटौंडा–२ को वनस्खण्डी देवी मन्दिर, हेटौंडा–४ मा पशुपती मन्दीर,हेटौंडा–५ मा दक्षिणकाली मन्दिर,हेटौंडा–११ स्थित भगवान विष्णुको मुर्र्ती समेत रहेको पुण्य क्षेत्र,हेटौंडा–१५ स्थित चुरियामाई मन्दिर प्रसिद्ध रहेका छन् ।
यसैगरि,हेटौंडा–१ भैरवडाँडा स्थित पाथिभरा मन्दिर परिसरमा रहेको मनमोहन भ्यु टावरबाट हेटौंडा बजारको मनोरम दृश्य विना दुरबीन प्रयोग नजिकैबाट देख्न सकिन्छ । हेटौंडा सहरको मनोरम दृश्यावोलकनको लागि दुई दशक अघि नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट नामाकरण गरिएर निर्माण गरिएको उक्त भ्यु टावर २०७२ सालको भुकम्पले जिर्ण बन्दै गएको छ ।
हेटौंडाको बुद्धचोकबाट करिब ५ किलोमिटर दुरीमा रहेको भ्यु टावर संरक्षणको पर्खाइमा रहेको छ । हेटौंडाको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको भैरवडाँडामा उपमहानगरपालिकाले हालै १८ फिटको धरहराको प्रतिमा निर्माण गरेको छ । उपमहानगरपालिकाले पाथिभरा मन्दिर नजिकै चोकमा पर्यटकलाई आकर्षित गर्ने उदेश्यले करिब १६ लाखको बजेटमा उक्त धरहरा सहित पाथिभरा मन्दिर जाने सडक र मन्दिरमा शौचालय निर्माण गरेको हो ।
पर्यटकको पर्खाइमा जुरेथुम डाँडा
हेटौंडा बजारबाट मदन भण्डारी लोकमार्ग सडक खण्ड हुँदै हटिया चोक १२ किलोमिटर र त्यहाँबाट उकालो कच्ची सडकमार्गबाट करिब २ किलोमिटर हिडेपछि खुड्किलामा पैदल यात्रा गर्दै पुग्ग सकिने नयाँ पर्यटकीय गन्तब्य हो जुरेथुम डाँडा । हेटौंडा–१७ हटियाको जुरेथुम डाँडा नयाँ पर्यटीय गन्तव्यको रुपमा विकास भईरहेको छ । भगवान कृष्णको मूर्ति ४२ फिट अग्लो समेत रहेको जुरेथुमलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न २०६७ सालबाट काम सुरु गरिएको थियो । नेपालकै अग्लो कृष्णको मूर्ति मानिएको मूर्तिलाई रंगरोगन गर्ने काम भईरहेको छ । ९० हेक्टर क्षेत्रफलमा रहेको जुरेथुमलाई पछिल्लो वर्षहरुमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका,बागमती प्रदेश सरकार,स्थानीयहरु लागिपरेका छन् । जुरेथुमको पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि उपमहानगरपालिकाले २०७७÷७८ मा २२ लाख ५५ हजार खर्च गरेको छ । पिकनिक सहित गर्न सकिने उक्त डाँडामा खानेपानी,शौचालय,प्रतिक्षाल लगायत संरचना निर्माण गरिएको छ । निर्माणाधिन जुरेथुममा भ्यु टावर निर्माण गर्ने योजना रहेको हटिया जुरेथुम पर्यटकीय क्षेत्र विकास समितिले जनाएको छ । टावरबाट हेटौंडा बजार सहित हर्नामाडी, हटिया र मकवानपुरगढी,बकैयासंगै बाहिरी जिल्ला बाराको निजगढ र पर्साको वीरगञ्जको दृश्यावोलकन गर्न सकिने जनाईएको छ ।
हेटौंडालाई पर्यटकीय सहरको रुपमा विकास गर्छौः उपमेयर बाँनिया
हेटौंडा उपमहानरपालिकाका उपमेयर राजेश बाँनियाले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडालाई पर्यटकीय सहरको रुपमा विकास गरिने बताएका छन् । संविधान जारी भएपछि २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुबाट आवश्यकता अनुसार पर्यटन क्षेत्रमा उल्लेखिए विकास भएको बताउँदै उपमेयर बाँनियाले अबको ५ वर्षमा पनि पर्यटनको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न समितिमार्फत विकास निर्माणको कामसंगै पर्यटन प्रवद्धनको कामलाई प्राथमिकता दिने बताए । पहिलो स्थानीय निर्वाचनमा हेटौंडा–५ को वडा अध्यक्षमा निर्वाचित भएर दोस्रो स्थानीय निर्वाचनमा हेटौंडाको उपमेयरमा निर्वाचित भएका बाँनियाले हेटौंडाको १९ वटै वडामा साइकलिङ ट्रयाक खोल्ने, कर्रा करिडोर निर्माण देखि नदिले कटान गरेको क्षेत्रहरुलाई संरक्षण गर्दै पार्कको रुपमा विकास गरिने बताए । उपमहानगभित्रका विभिन्न मन्दिर,गुम्बा लगाएतका धार्मीक स्थलहरुलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले दिर्घकालिन योजना बनार्ईरहेको समेत उपमेयर बाँनियाको भनाई छ ।