मोदी भ्रमणको खर्च देखाउन माग

गुगलपाटी संवाददाता
२३ जेष्ठ २०७५ ०६:४५

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएर फर्किएको एक महिना हुन लागे पनि प्रदेश सरकारले उनको स्वागतमा लागेको खर्च नदेखाएको भन्दै प्रदेशसभा बैठकमा आलोचना बढ्दै गएको छ।

नेकपाका प्रदेशसभा सदस्यले मोदीको भ्रमणमा लागेको खर्चबारे तत्काल जानकारी नगराए सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्। नेकपाका सुन्दरबहादुर विश्वकर्माले मंगलबार प्रदेशसभा बैठकको विशेष समयमा भने, ‘हामीले अहिलेसम्म सरकारलाई खर्च सार्वजनिक गर्न अनुरोध गर्दै आएका छौं तर अझै बेवास्ता गरे सदनमा अवरोध गर्न बाध्य हुनेछौं।’ उनले मोदी भ्रमणका विषयमा भइरहेका टीकाटिप्पणी र सरकारको ‘रवैया’ले प्रदेशकै बदनाम भएको उनले बताए। ‘हामीलाई जनतासमक्ष टाउको उठाएर प्रस्टसँग जवाफ दिने वातावरण छैन’, उनले भने, ‘तसर्थ सरकारले यथाशीघ्र भ्रमण खर्च पारदर्शी गरोस्।’