पौडी खेल्न दहमा हाम फालेका युवक फर्किएनन्
गुगलपाटी संवाददाता (कैलाश) मकवानपुर,११ साउनमकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर एक र दुईको बीचमा पर्ने ठूलो खोलामा पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको छ । बिहीबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका बर्दिया जिल्ला मधुवन नगरपालिका–५ बस्ने २० वर्षीय सुरेश आले मगरको दहमा डुबेर मृत्यू भएको दुई नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।
उनको शव शुक्रबार बिहान पौडी खेल्ने दह भन्दा करिब पाँचसय मिरट तल भेटिएको उनले जानकारी दिए । ‘गहिरो दहभित्र हामफाल्दा दहभित्रै ढुङ्गामा अड्किएर उनको ज्यान गएको अनुमान छ’, घिसिङले भने, ‘वर्षातपछि बढेको भेलले उनलाई बगाएर खोला तल पुर्याएको अवस्थामा हामीले शव फेला पार्यौ ।’
उनको शव स्थानीय, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले फेला पारेर पोष्टमाटको लागि हेटौंडा ल्याउँदै गरेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए । मृतक मगर बर्दियाबाट कैलाश २ स्थित निर्माणाधिन कमला माविको भवन निर्माणको लागि मजदुरी गर्न आएका थिए । गैह्र सरकारी संस्था जाईकाको सहयोगमा भूकम्पले भत्किएको विद्यालय भवन निर्माण भईरहेको छ ।