भूकम्पपछिको खुशी, नयाँ घर पाएपछि ‘कछाडे बा’ दंग

गुगलपाटी संवाददाता हेटौंडा
२६ श्रावण २०७५ ०१:०७

स्याउलाले बारेको घर, वर्षातमा तप तप खरको छानोबाट चुहिएको पानी । कछाड बाहेक ज्यानमा अरु कपडा हाल्ने बानी नभएका जगतदेऊ चेपाङ (कछाडे बा) ले वर्षातका अनगिन्ती कष्टकर रातहरु भुलेका छैनन् ।

तर २०७२ साल वैशाखको भूकम्पले राक्सिराङ गाउँपालिका–७ गाईबाङस्थित झुप्रो घरको पनि पर्खाल भत्काइदिएपछि उनले थप कष्टकर रातहरु बिताउनुप¥यो । भत्किएको घरमा स्याउला बारेर तीन वर्षात र जाडो कटाएका ६९ वर्षीय चेपाङललाई गत वर्षातमा भने बाँचिन्नकी झैँ लागाथ्यो ।
भनिन्छ दुःख पछि सुखको दिन आउँछ । चेपाङको हकमा पनि त्यस्तै भयो । चिसोका कारण निमोनियाले बिरामी परेका उनले यो वर्षातमा भने स्वास्थ्य चौकी धाउनुपरेन । वर्षातको दर्कने पानीमा जस्ताले छाएको नयाँ घरभित्र ओत लाग्न पाएपछि चेपाङ दंग छन् ।

वर्षातमा घरको छानोबाट पानी चुहिँदा नुन तेल किन्न शहर पुग्दा जस्ताले धपक्क बलेको घरहरु उनी सम्झन्थेँ । चुली भिरमा घर छाउन खर काट्न जाने बेला पनि उनलाई लाग्थ्यो, ‘मेरो पनि घरमा जस्ता छाउन पाए ।’ तर भूकम्पले केही दुःख दिएपनि उनको पुस्ताले पहिलो पटक जस्ताले छाएको पक्की घरमा बस्ने अवसर पाए । दुई तले भूकम्प प्रतिरोधी जस्ताले छाएको घरमा उनीसँगै नौ जनाको परिवार बस्दै आएका छन् ।

‘भूकम्पले दुःखसँगै यस्तो राम्रो घर पनि दियो’, चेपाङले खुसी हुँदै भने, ‘चिसोले गत वर्ष नै मरिन्छकी जस्तो लाग्याथ्यो, पक्की घरमा सरेपछि अब मलाई ५/१० वर्ष केही हुन्न ।’
सात रोपनी खोरिया बारीको उब्जनीले उनको परिवारलाई छ महिना खान पुग्छ । छोराहरु ज्याला गर्छन्, उमेरले सात दशक पार गर्दै गरेका चेपाङ आफै पनि हात खाली राख्दैनन् । नयाँ घर अघि चोया काड्दै गरेका उनी नाङ्लो, डोको बुनेर बिक्री गर्छन् । ‘चार/पाँच वर्ष भयो छोरालाई बेच्न पठाउँछु, नत्र म आफै लोथर र मनहरी बजार पुग्थेँ’, उनले भने, ‘नुन तेल खाने पैसाको लागि मैले छोराहरुलाई आजसम्म दुःख दिएको छैन ।’

चेपाङका छोरा जंग बहादुरले सरकारले दिएको दुई लाख रुपैयाँमा नयाँ घर निर्माण सकिएको बताए । ‘काठपात किनेनौं, आफै मिस्त्री भएकाले धेरे ज्यालामा पनि खर्च भएन’, उनले भने, ‘तर बजारबाट जस्ता, किला काँटा ल्याउन भने निक्कै महंगो ज्याला तिर्नुप¥र्यो ।’ उनको परिवारले हालसम्म पहिलो किस्ता बापतको ५० हजार र दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ बुझेका छन् ।
२८ प्रतिशत भूकम्प पीडितलाई नयाँ घर  हालसम्म मकवानपुरका २८ प्रतिशत भूकम्पपीडिले नयाँ घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिनाले बताए । ४९ प्रतिशत लाभग्राहीको भवन निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।
मकवानपुरका कुल लाभग्राहीमध्ये सात हजार आठ सय ३५ भूकम्पीडितले निजी घर निर्माण गरिसकेको इकाईको तथ्याङ्क छ । १६ हजार ५६ लाभग्राहीले दोस्रो किस्ता लगेर घर निर्माण गरिरहेको इकाईले जनाएको छ ।
इकाईको तथ्याङ्क अनुसार गुनासो फस्र्यौट भएर थपिएका सहित मकवानपुरमा ३३ हजार दुई सय ६६ लाभग्राही छन् । तीमध्ये २५ हजार दुई सय ४३ सँग अनुदान सम्झौता भइसकेको इकाई प्रमुख तिमल्सिनाले बताए । अनुदान सम्झौता भएकामध्ये पहिलो किस्ता २४ हजार दुई सय चार लाभग्राहीले बुझेको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार तेस्रो किस्ता सात हजार नौ सय ४८ लाभग्राहीले बुझेका छन् । भने अझै पनि मकवानपुरमा आठ हजार २३ लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन । ‘लालपुर्जाविहीन, सुकुम्बासी लगायत कारणले उनीहरुसँग घर निर्माणको सम्झौता हुन सकेको छैन’, इकाई प्रमुख तिमल्सिनाले भने । कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा ३३ हजार दुई सय ६६ लाभग्राही छन् ।

 

आजको अन्नपूर्ण पोष्टमा हेटौंडाबाट कृष्ण सारुमगरले समाचार लेखेका छन् ।