बामदेवका लागि छाडे रामबिरले

गुगलपाटी संवाददाता काठमाडौं
२३ आश्विन २०७५ ११:५१

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई छाड्ने भएका छन्। उनले जसरी पनि अब वमदेवलाई जिताएरै छोड्ने बताएका छन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विकासका लागि आफूले सांसद पद छोड्न लागेको दाबी उनले गरे। पत्रकारले वामदेवले जित्ने आधार के छ भन्दै गरेको प्रश्नको जवाफमा उनले भने, ‘त्यहाँ हाम्रो पार्टीको संगठन छ। म उहाँलाई जिताउन लाग्छु।’

उनले वामदेवलाई जिताउन घरघर पुग्ने प्रष्ट पारे। ‘घरघरमा गएर जनातालाई सम्झाउँछु। पार्टी संगठनलाई सम्झाउँछु’, उनले भने, ‘हार्ने सम्भावनै छैन। काठमाडौं ७ मा बामदेवको जित सुनिश्चित छ।’

मानन्धरले पार्टी नछोडेर सांसद पदमात्र सम्मानित नेतालाई चुनावको माध्यमबाट दिन चाहेको बताए। ‘मैले पार्टी छोडेको छैन। म विकासका लागि अघि बढेको छु’, उनले भने, ‘जनताको अपेक्षा विकास निर्माण हो। त्यसका लागि स्थिरता चाहिन्छ। देश बनाउने आधारका लागि मान्छेको खोजी हुन्छ। त्यसैले पद छोड्न लागेको हुँ।’

उनले वामदेव निर्वाचित भएपछि काठमाडौं ७ मा विकास हुने प्रष्ट पारे। उनले वामदेवको इतिहास हेर्नसमेत आग्रह गरे।

‘राजीनामापछि विकास निर्माणको निश्चित हुन्छ। वामदेवको इतिहास हेर्नुहोस्। धेरै ठाउँमा हारेको मात्र कुरा नगरौँ जितेको कुरा पनि गरौँ’, उनले भने, ‘मलाई कसैले प्रस्ताव गरेको होइन। मैले आफैँ प्रस्ताव गरेको हुँ।’