स्थानीय पत्रपत्रिकाः थाहा महोत्सवमा अष्ट्रिज र उँटको नाँच, दशैं लागेसँगै ठगिन थाले यात्रु

गुगलपाटी संवाददाता
२७ आश्विन २०७५ ०१:४६

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।

आजको साझाकुरा दैनिकले मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको थाहा महोत्सवमा अष्ट्रिच र उँटको नृत्य हेर्न पाइने समाचार छापेको छ ।

आगामी कात्तिक १० गतेदेखि १८ गतेसम्म हुन लागेको महोत्सवमा तालिम प्राप्त अष्ट्रिच र उँटले गीत बजाएसँगै छमछमी नाँचेर दर्शकलाई मनोरञ्जन दिलाउनेछ ।

पहाडी भेगका मान्छेहरुले प्रत्यक्ष देख्न नपाएका अष्ट्रिच र उँट प्रत्यक्ष रुपमा हेर्न पाउँदा र उँटसमेत चढ्न पाउँदा निकै रोमाञ्चक महसुस गर्ने आयोजकको दाबी छ ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले दशैं लागेसँगै यात्रु ठगिन थालेको प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । सुमो चढेर हेटौंडा अउन लागेकी हेटौंडा–४ की आशा ओली दशैंमा घर आउन सुमोको टिकट काट्न बल्खु पुगिन् ।

टिकटको मूल्य कति हो भनेर सोधिन् । सहचालककले ८ सय रुपैयाँ भनेपछि उनी तर्सिइन् । उनले भनिन् ‘हेटौंडासम्मको भाडा चारसय ५० हैन र दाई ?’ चालकले हास्दै भने ‘दशंै लाग्यो नि मिस बुझ्नुस् न ।’ केहीबेर बार्गेनिङ चल्यो ।

अन्त्यमा सातसयमा टिकट काट्ने सम्झौता भयो । तर टिकटमा भाडादर भने चासय ५० रुपैयाँ नै लेखियो । आशाले टिकट समाइन् र केही नबोली सुमोमा चढिन् । आशामात्र है काठमाडौंबाट हेटौंडा आउने तथा अन्यत्र जाने यात्रुहरु दुईगुणा बढी भाडा तिर्न बाध्य छन् ।

आजको समृद्ध समाज दैनिकले पहिलो पृष्ठमा गर्भवती चेपाङ चेलीको तस्बीर प्राथमिकताको साथ छापेको छ । राक्सिराङ गाउँपालिका ३ की १३ वर्षीया गभैवती ती चेपाङ चेलीले १२ वर्षकै उमेरमा प्रेम बिवाह गरेकी थिइन् ।

हेर्नुहोस्, हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ