प्रदेश सरकारसँग छलफलमा बेलायती राजदूत
गुगलपाटी संवाददातामकवानपुर- नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए ।
त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य नेपाल पर्यटन विकास समितीका पदाधिकारीसँग भेट गरेका थिए । उनले मकवानपुरको चुरियामाई सुरुङ, सहिद स्मारक, मनकामना मन्दिरको अवलोकन पनि गरेका थिए ।
राजदूत मोरिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साथ दिएर सहयोग गर्न तयार रहेको बताए । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले बेलायतले नेपालका सडक र खानेपानी आयोजना निर्माणमा सहयोग गरिरहेको बताए ।
‘बेलायत–नेपालको सम्बन्ध २ सय २ वर्ष लामो रहेको छ,’ उनले भने, ‘बेलायतले नेपालमा एक हजार किलोमिटर सडक निर्माण र अरु क्षेत्रमा विकासको काम गर्न सहयोग गरेको छ ।’ भूकम्पपछि मात्र बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको बताउदै राजदूत मोरिसले प्रदेश ३ मा १ सय ३० किलोमिटर सडक निर्माण गरिएको बताए । नेपालमा आएपछि काठमाडौंको मात्र नभई पूरै नेपालको राजदूत आफू भएको भन्दै उनले देशैभरिको समस्या हेरेर काम गरिने तर्क गरे । नागरिक दैनिकमा समाचार छ ।