प्रदेशका ९ अस्पतालको अध्यक्ष तोकियो, हेटौंडा अस्पतालमा पुनः प्रकाश
गुगलपाटी संवाददाताहेटौंडा–३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ ।
गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
भरतपुर अस्पतालको अध्यक्षमा खिमलाल भण्डारी, भक्तपुर अस्पतालको अध्यक्षमा मिलन सुवाल, हेटौंडा अस्पतालको अध्यक्षमा डेगराज पौडेल (प्रकाश), धादिङ जिल्ला अस्पतालमा महेन्द्र धमला क्षेत्रीलाई नियुक्त गरिएको छ । त्यस्तै सिन्धुली जिल्ला अस्पतालमा प्रल्हादकुमार पोखरेल, रसुवा जिल्ला अस्पतालमा रामशरण कुँइकेल, रामेछाप जिल्ला अस्पतालमा रोशन पाख्रिन, सिन्धुपाल्चोक जिल्ला अस्पतालमा इश्वरीप्रसाद श्रेष्ठ र त्रिशुली अस्पताल नुवाकोटको अध्यक्षमा अर्जुनप्रसाद न्यौपानेलाई मन्त्रालयले नियक्त गरेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा उल्लेख भएबमोजिम अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति ७ सदस्यीय हुनेछ । उनीहरुको नियुक्ती अध्यक्षले गर्नेछन् । आजको साझाकुरा दैनिकमा समाचार छ ।