चन्दा आतङ्क रोक्न स्ववियु चुनाव

गुगलपाटी संवाददाता
२९ पुष २०७५ ०३:१०

–सञ्जय कार्की

विद्यार्थी भन्नाले नियमित रुपले विद्याध्ययनमा लाग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यसरी नियमित रुपले विद्याअध्ययनमा संलग्नहुँदा ऊ कुनै शिक्षण संस्थामा भर्ना भएको हुनुपर्छ । आजको विद्यार्थी नै भोलिको सफल नेता, प्राध्यापक, वकिल, कलाकार, वैज्ञानिक, पत्रकार हुन् । शिक्षाको पर्यायार्थ सिक्नु हो । तर यसको लक्ष्र्य चरित्र निर्माण गर्नु पनि हो । शिक्षाले नै उन्नतिका चौतर्फी ढोकाहरु खोल्दछ । त्यहि सिलसिलामा रहेका क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरुलाई अहिले स्ववियु निर्वाचन लागेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी फागुनमा गर्न त्रिभुवन विश्वविद्यालयले देशभरका आंगिक क्याम्पसलाई निर्देशन दिएको छ । त्रि.वि. मातहतका ६० क्याम्पसमा हरेक २/२ वर्षमा स्ववियु निर्वाचन गर्ने प्रावधान छ । त्रि.वि. ले सम्बन्धन दिएका १ हजार ८५ सामुदायिक र निजि क्याम्पस पनि छन् । तिमध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजले स्ववियु निर्वाचन गराउँदै आएका छन् । त्रि.वि. का केही क्याम्पसमा २०७३ फागुनमा चुनाव गरिए पनि केही प्रभावशाली क्याम्पसहरु केन्द्रिय क्याम्पस किर्तिपुर, महेन्द्र रत्न क्याम्पस ताहाचल, शंकरदेव, त्रिचन्द्र, अस्कल, पाटन क्याम्पस, पिएन क्याम्पस पोखरा लगायतका क्याम्पसमा स्ववियु चुनाव हुन सकेन । स्ववियु विद्याथी आन्दोलनको उपलब्धी र सम्पत्ति हो । लोकतन्त्रको आधार हो । हरेक २÷२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन गत २०७३ मा केही क्याम्पसहरु मा भए पनि कयौँ क्याम्पसमा भने १० वर्ष सम्म हुनसकेको छैन । विद्यार्थी आन्दोलनको पूर्नताजकिकरणका लागि पनि स्ववियु निर्वाचन अपरिहार्य छ ।

विद्यार्थी सङ्गठन आन्दोलन हो । रुपान्तरणको स्वनदृश्य हो । विद्यार्थी सङ्गठन सामाजिक परिर्वतनको सम्वाहक हो । निर्वाचन गर्ने दायित्व र जिम्मेवारी विद्यार्थी सङ्गठनको हो । कयौँ क्याम्पसमा १० वर्ष देखि निर्र्वाचन हुन नसकेको अवस्थामा विद्यार्थी सङ्गठनहरु माथि प्रश्न उठेको छ । विद्यार्थी आन्दोलनको उपलब्धी स्ववियु आज जीवन मरणको दोसाधमा पुग्दा विद्यार्थी सङ्गठन टुलुटुलु हेरेर बस्ने कि बचाउनमा लाग्ने ? त्रि.वि. केन्द्रीय क्याम्पस र केही प्रभावशाली क्याम्पसमा १० वर्षदेखि स्ववियु निर्वाचन नहुने र आंगिक क्याम्पसहरुमा निर्वाचन भइराख्दा स्ववियुको अर्थ के ? विद्यार्थीको नाम गरेर वा विद्यार्थीको हकहितको नाम गरेर क्याम्पस वा विश्वविधालयमा कुन कुन विद्यार्थीको नाममा कतिकति रकमको चेक काटिएको छ यो निर्वाचनमा पर्दाफास गरेर त्यस्ता विद्यार्थीलाई क्याम्पसको गेटबाट लखेट्ने आँट विद्यार्थीले गर्नुपर्छ । विद्यार्थीहरुको प्रतिनिधिमूलक साझा संस्था स्ववियु अन्योलमा पर्दा पूर्नजिवनको लागि विद्यार्थी सङ्गठनहरु दिलो ज्यान दिएर लाग्नुपर्छ ।

गत २०७३ साल देखि स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हक कायम गरिएको छ । यसको मतलब २८ वर्ष भित्र प्रत्येक विद्यार्थीले मास्टर्स गर्नुपर्छ भन्ने सन्देश पनि हो । अर्थात जो नियमित विद्यार्थी हो, त्यो नै विद्यार्थी स्ववियुमा प्रतिनिधित्व गर्न पाउने भन्ने हो । अग्रज विद्यार्थी जो २८ वर्ष कटे त्यो विद्यार्थी नेताहरुले हासीहासी अभिभावकत्व निर्वाह गरी निर्वाचन गराउन पहल गर्नुपर्दछ । मलेसियामा २५ वर्षे युवक सदिक सिद्धिक मन्त्री चलाउन सक्छन्, मास्टर्स गरिरहेका २८ वर्षमूनिका युवाहरु अवश्य स्ववियु चलाउन सक्छन् ।

एजेन्डा विहिन बन्दै गएको विद्यार्थी सङ्गठन जिम्मेवार हुनपर्दछ । देशका प्रमुख विद्यार्थी सङ्गठनहरुले एकताको साथ शान्तिपूर्ण ढङ्गले स्ववियु निर्वाचनमा जान राजी हुनुपर्दछ । प्रमुख विद्यार्थी सङ्गठनका नेताहरु अल्मलिए स्ववियुको अस्तित्व नै संकटमा पर्ने र विद्यार्थी आन्दोलन एवम् विद्यार्थी सङ्गठन प्रति नै प्रश्न खडा हुनेछ ।
(कार्की अनेरास्ववीयू त्रि.वि.का नेता हुन् ।)