दल छल्दै मुख्यमन्त्री पाैडेलले गर्न थाले काम

गुगलपाटी संवाददाता हेटाैंडा
१९ चैत्र २०७४ ०९:२९

हेटौंडा : प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन।लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ।

प्रदेश सरकारमा सहभागी एमालेका मन्त्री तथा विभिन्न समितिका सभापतिसमेत संसदीय दलको बैठक नबसी छनोट गरिएको थियो। एमाले ३ नम्बर प्रदेश कमिटीले मुख्यमन्त्री पौडेललाई पार्टीसँग सहकार्य गरेर मात्र सरकार सञ्चालन गर्न भनेको थियो। तर उनले संसदीय दललाई समेत छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पार्टीभित्र आलोचना सुरु भएको हो।

प्रदेशसभा सदस्य तथा एमाले नेता राजेन्द्र पाण्डेले संसदीय दलको बैठक लामो समयसम्म राख्न नसक्नु संसदीय दलको नेताको कमजोरी भएको बताए। ‘उहाँले संसदीय दलको बैठक राख्न आलटाल गरिरहनुभएको छ’, उनले भने, ‘पार्टी र संसदीय दललाई बाइपास गरेर सरकार सफल हुँदैन।’ संसदीय दलको बैठक राखेर सरकार सञ्चालन गर्न सहज भएकाले बैठक नबोलाइएको हुनसक्ने पाण्डेको भनाइ छ। ‘प्रदेश सरकार छ कि छैन भन्ने जनताले महसुस गर्न नसक्नु राम्रो संकेत होइन’, उनल भने, ‘संसदीय दलको बैठक नबसी नहुने विषयमा समेत बैठक डाकिएको छैन।’

‘यही २२÷२३ गतेतिर दलको बैठक राख्ने सोचमा छु। बैठक नबसे पनि सबैको सल्लाहअनुसार नै काम गरिरहेको छु।’

– डोरमणि पौडेल, मुख्यमन्त्री

विभिन्न समितिका सभापति चयन गर्न बैठक डाक्नुपर्नेमा कसलाई पठाउने भन्ने जानकारीसमेत नपाएको पाण्डे बताउँछन्। आलोचना हुने डरले मुख्यमन्त्री पौडेलले संसदीय दल छलेर काम गरिरहेको एक नेताले बताए। ‘संसदीय दलभित्र उनीभन्दा वरिष्ठ नेता धेरै छन्, त्यसैले पनि दलभित्र खासै छलफल गर्न रुचि नदेखाएको हुन सक्छ’, उनले भने। एमाले तीन नम्बर प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीले व्यस्तताको कारण दलको बैठक राख्न नसकेको हुनसक्ने बताइन्। ‘एकपटक बस्ने कि भन्ने सल्लाह भएको थियो तर मैले भ्याइनँ’, उनले भनिन्, ‘त्यसपछि छलफल भएको छैन। बैठक राखेर नियमित छलफल गरी अघि बढे उहाँलाई नै राम्रो हो।’

मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता पौडेलले छिट्टै नै संसदीय दलको बैठक राखिने बताए। ‘यही २२÷२३ गतेतिर दलको बैठक राख्ने सोचमा छु’, उनले भने, ‘बैठक नबसे पनि सबैको सल्लाहअनुसार नै काम गरिरहेको छु।’ व्यस्ततासँगै बस्नैपर्ने विषय नभएकाले बैठक नराखिएको पौडेलको भनाइ छ।

पौडेल गत माघ २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश तीनमा ११० प्रदेशसभा सदस्यमध्ये ५८ जना एमालेका छन्  ।

अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित ।