प्रचण्डज्यू,अब त स्वीर्कानोस् ,जनयुद्ध गलत थियो भनेर
सुदन अधिकारी
कुनैपनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुपूर्व पर्दाअगाडी देखाइएका सपना आन्दोलनकै बलबाट सत्तामा पुगेपछि केकति पुरा गर्छन् वा पुरा गराउन प्रयत्नशिल रहन्छन् भन्नेकुराले निर्भर गर्छ धेरै हदसम्म । जनयुद्धको अपरिहार्यता बोध गराउने भनिएको चालीस बुँदेलाइ यसकै ठेकेदारहरुबाट गराइएको टिठलाग्दो अवसानको प्रतक्ष्यदर्शि(वा भुक्तभोगी ) जनता जनयुद्धको सफलता वा असफलताबारे धरातलिय फैसला गर्न सक्षम छन् ।
जनयुद्धको जगमा हासिल भनिएका उपलब्धिलाइ तराजुको एउटा पल्लामा राखेर त्यसकालागि जनताले बगाएको आसुँ ,दिइएका यातना र चढाइएको रगतलाइ अर्को पल्लामा राख्दा कसको पल्लाभारी होला ? जनयुद्धकै कारणले नेपाली समाजमा बिजारोपण भएका सामाजिक बिग्रह अनि सर्वहाराको ठेकेदारमा खुल्लमखुल्ला आएका आत्मकेन्द्रित परिबर्तनलाइ नियालेर तिनका ती कथनी र यी करनीबीचको अन्तर देखेको नेपाली समाजमा जनयुद्धको औचित्य,आवश्यकताबारेमा बहस गर्नेपर्ने अपरिहार्यता झल्कन्छ । ढिलो वा चाँडो ।
×××××
खेतमा घाँस काटेर आउनेबित्तिकै आमा दाइलाइ अंगालो हाल्दै भक्कानिनु भो ‘बुबा..बुबा..‘
बिहान खाना खाएर सधैजसो जानुभएको आमाको त्यो चाल देखेर हामी रनभुल्लमा पर्यौं । अझ,आमाले एकोहारो बुुबा भनिरहँदा हामीले आफैंलाइ सम्हाल्न सकेनौं ।
कसले के भन्यो आमा ?
के भयो तपाँइलाइ ?
दाइले गाउँघरका कसैले केहि नराम्रो पो भनेछन् भन्ने ठानी आमालाइ प्रश्न गरिरह्यो ।
आमा मात्र रुनुहुन्थो । केहि भन्न खोज्नुहुन्थो तर सकिरहनुुभएको थिएन ।
‘बुबा….बुबा.र्.
एक घण्टाबढी भक्कानिएपछि आमा अलिक सहज हुनुभो । दिदीले यहि मेसोमा सोधिहालि आमा,भन्नुस न के भयो तपाँइलाइ आज ।
आमा बोल्न खोज्नुहुन्थो । दाइ,दिदी र मलाइ पालैपालो हेर्नुहुन्थो । अनि बोल्न खाज्नैबित्तिकै गला अबरुद्ध हुन्थे ।
आमालाइ यो हालतमा देखेपछि बल्लतल्ल सम्हालिएर बसेका हामी मुखामुख गर्नबाहेक केहि गरेनौं ।
“आज तल्लाबारीमा धाँस काट्दैगर्दा मैले बुबाजस्तै मान्छै देखें । हिँडाइ उस्तै थियो । लवाइ ठाक्कै बुबाकोजस्तै थियो । बोल्छु भनेर दौडिँदै गाको,भेट्टाउनै सकिन । के गरम् ,कसो गरम भएर दौडिँदै घर आएको ”।
आमाबाट यो अनपेक्षित कुरा सुनेर हामीले आफूलाइ सम्हाल्न सकेनौं । कोहि कसैलाइ सम्हाल्ने स्थितिमा थिएनौं । एकअर्का रोइरहेको हेर्नबाहेक । त्यो रात फेरी हाम्रोलागि ज्यादै लम्बेतान बन्नपुग्यो ।
२०५८ साल बैशाख १४ गते नेपाली सेनाले बुबालाइ बेपत्ता बनायो । आमाको दाँतको उपचार गर्नेक्रममै । परिवारको कान्छो सदस्य म पाँच बर्षको हुँदोहुँ ।
आजभोली २०७४ सालका अन्त्यतिरका दिनहरु बढो रफ्तारमा दौडिरहेछन् । १६ बर्षबढी भैसक्यो । आजपनि ,उही एउटै आशा,एउटै सपना तर असम्भवप्राय लाग्ने बिपनाले हामीलाइ पलपल मुर्छित पारिरहन्छ । बेपत्ता बनाइनुभएका बुबाको आगमन ।
डेढ दशक बितिसक्दापनि मेरी आमालाइ बेपत्ता पारिएका आफ्नो श्रीमानको यादले कतिबिध्न पिरोल्छहोला अन्तर्मनमा ,म देख्दिँन । तर ,कहिलेकाँहि बाटोघाटो ,खेतबारी अनि चुलोचौकामा बुबाको यादले आफूलाइ सम्हाल्न नसक्दा आइपर्ने यस्ता अबस्थाले स्वत बताउँछ ।
“सोमाटोफर्म डिसअर्डर” ।
यो एक मनोरोग हो । कुनैकुराको अत्याधिक चिन्ता लिनाले यो समस्या बढ्छ । सामान्यतया ६ महिना औसधि खाँदा निको हुने यो समस्या आमाले तीन बर्षबढी औसधि खाँदापनि लगभग उस्ते छ ।
‘तपाँइले मुखले कुने चिन्ता छैन भनेपनि मनले अत्याधिक चिन्ता भएको देखाउँछ’ ।
हरेकचोटी फलोअपमा जाँदा डाक्टरले आमालाइ यहि भन्छन् । आमा फिस्स हास्नुहुन्छ । त्योबेला उहाँका मनमा के कुरा खेल्दोहुन् ?
बुबाको अबस्था अज्ञात भएपछिका य िसोह् बर्ष आमालाइ कतिकष्ट्प्रद बनेहोलान् ? त्योबेला बुबाले क्रान्तीको अपरिहार्यता महसुस गराउन आफसँग गरेका भलाकुसारी अत्तत,नेतृत्वको झुटको पुलिन्दा रहेछ भन्ने हेक्का मेरि अनपढ आमालाइ भइसक्यो ।
प्रचण्डज्यू ,“आकासका तारा” झार्ने सपना देखाएर कयौं परिवारको पुस्तौंको सपना उजाडिदिएकोमा तपाँइलाइ हिनताबोध हुँदेन ?
हाम्रो ‘सारासंसार’ रहनुभएको बुबालाइ देखाइएका सपनाले तपाँइलाइ पिरोल्दैन ?
बुबालाइ सेनाले बेपत्ता बनाएपछिका कयौं बर्ष मैले आमालाइ एकै प्रश्न सोधिरहें ं,‘आमा,बुबाले तपाँइसँग अन्तिमपटक के भन्नुभएको थियो ?सेनाले तपाँइलाइ के भन्यो ं’ ?
आमा मेरा यी प्रश्न सुन्नेबित्तिकै मलाइ अंगालोमा बेर्नुहुन्थो अनि आफै. रुन थाल्नुहुन्थो । समयक्रमसँगै यो अनुत्तरित प्रश्नलाइ मैले मनमै राखें , मुखसम्म आउनै दिइन ।
नियती भनौं वा बिवशता,घरको कान्छो सदस्य मलाइ काठमाण्डौंमा मित्रता नेपाल नामक संस्थ्थामा पढ्न पठाइयो । अहिले म नेपालको एक मेडिकल कलेजमा एमबिबिएम अध्ययनरत छु । यसबीचमा मैले आमासाग सोध्न नसकेको यहि प्रश्न आमाले मलाइ सोध्नुहुन्छ ।
अझ,सरकारले सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग बनाएको सुनेपछि आमा मसँगको प्रत्यक भेटमा भन्नुहुन्छ ,बाबु ,‘बुबाको अबस्थाबारे केहि जानकारी पाइस् त’ ?
प्रश्न सुन्नेबित्तिकै म हरेकपल्ट स्तध्ध हुन्छु । बिगत आफूले आमालाइ यहि प्रश्न सोधेको क्षण सम्झन्छु । एकछिन रोकिन्छु अनि आमालाइ सम्झाउने कासिस गर्छु । म आमालाइ बेपत्ता आयोगमा मैले हालेको उजुरीमा आयोगले सो पत्रलाइ नं – १७२६मा कारबाहियुक्त अबस्थामा रहेको भनि भनेको बाहेक अन्य केहि भन्न सक्दिन । तर ,यो आयोगले न्याय दिँदैंन भन्ने हैक्का मलाइ हुँदापनि आमालाइ सान्त्वनाका शब्दबाहेक केहि भन्न सक्दिन ।
कुनै कालखण्डमा आफूले हजारौंपल्ट सोधेरपनि अनुत्तरित रहेको प्रश्नको जवाफ कालान्तरमा आफैंले दिनुपर्दाको पीडा महसुस गर्नसके हामी त्यो प्रश्न सायदै गर्थौं कि ! आझभोली मलाइ यहि कुराले औधि पिरोल्छ ।
शाान्तीसम्झौता भएको ६ महिनाभित्र गठन गरिने भनिएका आयोगहरु बल्लतल्ल दशकपछि बल्ततल्ल गठन गरिएको छ । राजनीतिक भागबन्डामा केबल कर्मकाण्डी रुपमा अन्तराष्ट्रिय न्यायका मूल्यमान्यता विपरित बनाइएको आयोगले चौध महिनामा केबल नियमाबली मात्र बनायो । सरकारले कतिपय एनकानुन संसोधन नगरिकन थपिएको म्यादको कुनै औचित्य छैन भनि आयोग प्रमुखले सार्बजानिक गरिसक्दापनि सरकार आँखामा छारो हाल्दै म्यादमात्र थपिरहेको छ । संबिधान अनुसार अबको म्यादनै अन्तिम हुने प्रावघान हेर्दा द्धनद्धकालिन आयोगद्धारा पीडितलाइ न्यायभन्दा बढी चोट दिन सरकार उद्यत रहेका भान हुन्छ ।
न्यायको आशमा कयौं बर्ष बिताइ अन्ततःबाध्य भइ आमरण अनसनको बाटो रोज्नुभएको गंगामायाको साहशको म नमन गर्छु । तर म लाचार छु ,मैले उनकोजस्तो बाटो लिन सक्दिन । त्यत्रो दुखको पहाडलाइ छिचोलेर यहाँसम्म आएको हाम्रो परिवारले फेरी गंगामायाजस्तै अप्रिय निर्णय लिनु भनेको आगामी पुस्तामा यो घाउ सारी तिनीहरुको जीवनलाइ पनि अन्धकारमा धकेल्नु हो । म त्यो कदापी चाहन्न ।
त्सैसैले त मनभित्रका बह लुकाइ आमालाइ म हाँस्दै भन्छु , “आमा,अब हामी स्वार्थी हुने । पहिला आफू बन्ने अनि परिवार बनाउने । परीवार बनाउन सकेमात्रै समाज बनाउने प्रण गर्ने अनि हाम्रो जस्तै परिस्थिति भएकालाइ सहयोग गर्ने” ।
आमा मेरो मुखमा हेर्नुहुन्छ । अनि मुसुक्क हाँस्न खोज्नुहुन्छ ।
हो , नेपालको इतिहासको बिभिन्न कालखण्डमा परिबर्तनका लागि सहादत प्रात्त गरेका सपुतको परिवारका दुर्दशा हेरेपछि म ठोकुवासाथ भन्न सक्छु ,अब हाम्रो भलाइ मैले माथि भनेकै कुरामा हुनेछ ताकि आउने पुस्तामा द्धन्द्धको अबशेस मेट्न सकौं ।
मेरो बुबाजस्ता हजारौंले एउटा गल्ती गर्नुभयो । आफू र आफ्नो परिवारमा परिबर्तन ल्याउन नसक्ने वा नचाहने नेतृत्वले देशमा आमूल परिबर्तन ल्याउँछौं भनेर गरेका तर्कहिन भाषणको जालमा परि हाँसी हाँसी सहादत प्रात्त गर्न तयार हुनुभयो ।
तर हाम्रो पुस्ताका लागि अमुल्य सन्देश छाडेर जानुभएको छ ।
“ अब नेपालको भबिष्य अहिलेसम्म प्रात्त भएका उपलब्धिलाइ रक्षा गर्दै ,जनताको मतको कदर गर्दै देशको आर्थिक अबस्था सुधार गर्नतर्फ अग्रसर हुनुपर्छ ताकि अझै पनि जनतालाइ एक आपसमा भिडाएर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने प्रबृती निरुत्साहित बनोस्” ।
यो भन्दा ठूलो सन्देश हाम्रो पुस्ताका लागि के हुन सक्ला ?
प्रचण्डज्यू ,तपाँइमाथि केहि पहिले परेको पारिवारिक बज्रपातपछि मैले लेखें, ‘धन्य प्रचण्ड त भाग्यमानी रहेछन् । आफ्नो छोरामो अत्तिम संकार त गर्न पाए । सोह् बषैअगाडी बेपत्ता बनाइनुभएका मेरो बुबाको सास वा लासको कुनै ठेगाना नभएकैले अहिलेसम्मपनि हाम्रो परिवारले अन्तिम संसकार गर्न पाएका छैनौं । हाम्रो पीडातर्फ अब त ध्यान दिए हुन्थो ’।
हो ,मैले मेरो बुबाको अन्तिम संस्कार गर्न पाइन । आमा भन्नुहुन्छ ,‘बुबाको अन्तिम संस्कार अब त गर्नपर्छ बाबु ’ ।
बिडम्बना,के भनेर गर्ने ? कुन दिनलाइ तिथि मानेर गर्ने ?
प्रचण्डज्यु , एउटै मानिसलाइ कहिले शहिद कहिले बेपत्ता बनाएर सरकारले दिएको पीडाको घाउ निको पार्न किन चाहनुहुन्न ?
आफ्नो अन्त्मिम सास रहँदे आफ्नो प्रीयजनलाइ के ,कसरी ,किन बेपत्ता बनाइयो भन्दै सास वा लास जे भएपनि पाउँ भनि आधारभुत माग राख्ने मेरी आमाजस्ता हजारौं द्धन्द्धपीडितलाइ कतिन्जेल तड्पाउनुहुन्छ ?
प्रचण्डज्यू ,जनयुद्धले मेरो जीवनमा छरेका बाछिटालाइ कुनामा राखेर जनयुद्धका जगमा हासिल भएका भनिएका उपलब्धिलाइ नियाल्दा मन खिन्न हुन्छ ।
माओबादीले जनयुद्धलाइ सफल पार्न जायज नाजायज अनेकौंं हत्कण्डा अपनायो । दुरदराजका सर्वाहारालाइ तत्कालिन सत्ताका बिरद्ध आवाज उठाउन बाध्य बनायो,जनसत्ता स्थापनाको सपना बाँडेर । चुलो चौकाको अध्याँरो चौघेराभित्र गुम्सिएका महिलामाझ पितृसत्ताको खेदो खन्यो । दलित,आदिबासीमाझ बाहुनबादको बिगुल घन्काइदियो । आफ्नो उदेश्यप्रात्तीको लागि माओबादी नेतृत्वले समाजका हरेक संरचनामा ‘देश अनुसारको भेष बदलि’ ब्यापक जनसहभागिता नर्माण गर्यो । अन्तत,आफ्ना आधारभूत मागलाइ माओबादीले बिस्तृत शान्तीसम्झौतामार्फत सारा देशको मागका रुपमा पुर्नभाषित गर्न सफल भयो ।
पहिलो संबिधानसभामार्फत अत्याधिक मत दिइ जनयुद्धका नेतृत्वकर्तालाइ अलिकति डर ,अलिअलि रहर अनि असिमित भरले जनताले चुने र देखाएका सपना पुरा पदमा आसिन गराइदिए ।
जनयुद्धताका दुरगामी प्रभावको आंकलन नगरि निहित स्वार्थपूर्तीकैलागि बाँडिएका सपना माओबादीलाइ घाँडो बन्यो । सीमान्तकृतलाइ ‘तारा झार्ने ’ सपना देखाइ युद्धमा मर्न–मार्न लगाउने नेतृत्व अन्तत लुसुक्क चोरबाटोबाट पानीमाथिको ओभानो बनि उनीहरुको मुद्धालाइ आझेलमा पारि निष्कृृट राजनीतिक अबसरबादको नमुना प्रदशन गरेको छ । नेपालको धरातलिय यथार्थलाइ इन्कार गरि हरेक जातीलाइ स्वायत्त राज्य उपहार दिने प्रस्ताव गरि भाषणपिच्छे मगरात,लिम्बुवान,कोचिला,थरुहट लगाथत प्रदेशको प्रसंग उप्काउने माओबादी नेताहरु अहिले ‘अखण्डका’ पक्षमा खुल्लमखुल्ला पैरबी गर्छन् ।
सर्वाहराको एक्लो ‘ठेकेदार’ दाबी गर्ने माओबादी नेताहरु जनताको घरमा पुग्नकालागि आजभोली चुनाबबाहेकका साइत कहिल्यै जुर्दैन । दिनभरी माक्सबाद ,सर्बहारा,गरिब ,निमुखा ,भोक,पेटका कुरा गर्ने अनि अध्याँरा रातमा जनतालाइ बर्गशत्रु भनेर चिनाइएका हरुसँग मोलमोलाइ गर्दा कुनै हिनताबोध हुँदैन नेतृत्वलाइ ।
बुर्जुवा शिक्षाको भबिष्य छैन भनि कलम समाइरहेका कलिला हातमा बन्दुक थमाइदिएर हजारौंका भबिष्य बर्बाद पार्नेहरु अहिले आएर आफ्ना सन्तानले सुबिधासम्पन्न बिद्यालयको प्रमाणपत्र हातमा राखिादिँदा अतित सम्झेर पश्चताप गर्दैगर्देनन् ।
समानुपातिक समाबेशीको जन्मदाता हौं भनि उल्लेख्य महिला सहभागिताको ग्यारेन्टी गर्ने कसम खाएको नेतृत्वलाइ मन्त्रिमण्डलमा एउटा महिला राख्नसमेत धौधौ पर्छ । जनयुद्धमा आधाबढी भाग ओगटेका महिला राज्य सन्चालन गर्ने अबसर पाउँदा सधैं बज्चित हुनुपर्ने बिबशता छ ।
एउटै मोर्चामा रहेर समान उदेश्य लिएकाहरु कोहि साधरण उपचारसमेत नपाइ घर न घाटको अनि कोहि रुधा लाग्ने बित्तिकै बिदेश जाने बिरोधाभाष माओबादीको लागि अब नौलो रहेन ।
शहिदका सन्तानलाइ राज्यले उमेरहद तोकेर प्रदान गर्ने सुबिधाबाट बहुसख्यक बिमुख छन् । कयौ शहिदका सन्तानले बिद्यालयको मुख नदेखिरहेको यो बिशम अबस्थामा पढ्नेहरुसमेत बिबिध कारणले नियमित जान नपाउँदा सरकारले तोकेको अठार बर्ष उमेरहद नाँध्ने हुदाँ राहतबाट पूर्णत बन्चित छन् । अझ दुभाग्य,आन्दोलनका शहिद बेपत्ता परिवारका छोराछोरी पठापाठन गर्ने बिद्यालयको अबस्था शर्मनाक छ । ं आफ्ना सन्तानलाइ सुबिधासम्पन्न बिद्यालयमा पठाउने माओबादी नेताले आफुसँगै एउटै मोर्चामा हुँदा शहादत प्रात्त गरेका सहकर्मीका सन्तानको ब्यबस्थापनमा कुनै गम्भिर पहलकदमी लिएकै छैनन् ।
राज्यले जनयुद्धका शहिद–बेपत्तालाइ दिने भनि बाचा गरेको दश लाख पाउन ठाक्कै दश बर्ष लाग्यो । किस्ताकिस्तामा छरेर दिइएको सो रकम उत्पादनमूलक काममा नभइ घरखर्चमै सकिएको सबै पीडितका साझा गुनासो हुन् । रोजकारीको ब्यबस्था गरि पीडितको संरक्षक बन्नुपर्ने सरकार केबल ‘चारो’मात्र छरिरह्यो ।
जनयुद्धका धाइते ,शहिद बपत्ताका परिवार कोहिपनि अहिलेको माआबादीमा आएको रुपान्तरणबाट खुसी छैनन् । एकाध होलान् जो सत्ताको वरिपरि रमिरहेका ।
तरपनि ,माओबादी नेतृत्वलाइ आफ्नो जस्तोसुकै कर्म ऐतिहासिक लाग्छ । जनयुद्धको नेतृत्वकर्ता शान्तीप्रक्रियामा आएपछि आफ्नो अनुकुलता हेरि कहिले प्रचण्ड बने,कहिले पुस्पकमल बने । पुस्पकमलबाट प्रचण्ड बनेपनि ऐतिहासिक छलाङ । प्रचण्डबाट पुस्पकमल बनेपनि ऐतिहासिक छलाङ । नैतिक,राजनीतिक,बैचारिक स्खलनपनि छलाङ । खुफिया एजेन्सी “र” का प्रतिनिधि भेट्नुपनि छलाङ । सांसद खरिदबिक्रिको लागि बिदेशीसँग पैसा माग्नु पनि छलाङ ।
एमालेले जनयुद्धकालिन मुद्धामा फसाउन खोज्यो भनि कांग्रेससँग सहकार्य गरि सत्तामा जानुुुु पनि जायज । अनि आफैंले परिबर्तनबिरोधि भनेर रटान लगाइरहेको पार्टीसँग बिनाकनिै बैचारिक छलफल गरिने एकतापनि जायज । नेतृत्वमा आएको यो स्खलनमा खबरदारी गर्नुपर्नेमा अधिकांश आफ्नो दुनो सोज्याउन ब्यस्त छन् ।
प्रचण्डज्यू , तपाँइको पार्टीले जनयुद्धका दौरान शहिद बेपत्ताको नाममा केहि कार्यक्रममा औपचारिक मौनधारण गर्नुबाहेक अरु केहि कार्यक्रमलाइ पनि निरन्तरता दिएको जस्तो मलाइ लाग्दैन । बिन्ती ,अब यसको कस्ट नगर्नु ।
कुमार बिस्वासलाइ सुन्दै थिएँ
जिसका बिरुद्ध था युद्ध
उसे हतियार बनाकर क्या पाया
जो सिलालेख बनता
उसको अखबार बनाकर क्या पाया ?
प्रचण्डज्यू ,यी र यस्ता कबिता सुन्दा मलाइ तपाँइलाइ नै गिज्याइरहेकोझैं लाग्छ । पार्टीभित्र बिचारको बहसलाइ ब्याक्तीत्वको लडांइले बिस्थापित गर्दा मुद्धा लावारिस अबस्थामा तुहाइदिँदा तपाँइको मिृतीमा तत्कालिन दिनहरुले झक्झकाउन्न ?
प्रचण्डज्य ,तपाँइ कहिले पानीबिना बाँच्नै नसक्ने माच्छा बन्नभो । कहिले धर्तीमा कहिल्यै पाइला नराख्ने चराझैं गर्नभो । तर , सामाजिक धरातल बुझेको मान्छे बन्न प्रयास नै गर्नभएन ।
प्रचण्डज्यू ,कुनै कथाकारलाइ एउटा मनुस्वले आफ्नो जीन्दगीमा सहनसक्ने कठिनाइबारे एउटा काल्पनीक कथा बुन्न लगाइ हातमा लिएर तपाँइको नेतृत्वको जनयुद्धले क्षतबिक्षत बनाएको परिवारको अबस्था बुझ्ने कष्ट गर्नुभयो मात्र भनेपनि तपाँइले आफ्नो कामको मूंल्याकनमा सहयोग पुग्नेथियो । कथाकारले सोच्नसक्ने पीडाभन्दा जनयुद्धले छोडेको चोट बढो भारी पाउनुहुनेछ ।
तपाँइका आजभोलीको दौडधुपले आफूले बनाएको धरातल हेर्ने फुर्सद नहोला । अब त्यो दिन आउँदैन होला पनि सायद ।
प्रचण्डज्यू ,तपाँइप्रति मेरा आशाका किरण केहि बााकी छैनन् । गुनासाका पुलिन्दा छन् जरुर ।
अन्त्यमा ,
प्रचण्डज्यू ,जनयुद्धताका प्रचण्डभन्ने मान्छे होला र भनेर शंका गर्ने सर्वहाराले तपाँइ खुल्ला राजनीतिमा आएको दशकबढी समयमा तपाँइको नाडी छामीसके । तपाँइको एक आदेशमा मर्नमार्न तयार हुनेहरु अहिले आफ्ना ती दिनहरुप्रति पश्चाताप गर्छन् । तपाँइले उठाएका मुद्धा,देखाउनुभएको आदर्श अनि देखिएको सपना सबै फर्जी प्रमाण्ति भैसके । यसके समीक्षा ठीलोचाँडो तपाँइले गर्नेपर्छ ।
तपाँइले लगाउनुभएको पारदर्शी लुगामार्फत सबै नेपालीले तपाँइको बनावट देखिसकेपछि पनि किन आफ्नो लुगाबारे पुर्नबिचार गर्नुहुन्न ?
जनयुद्धले नेपाली समाजलाइ अपुरणिय क्षति पुर्याएको छ । हासिल भएका केहि उपलब्धि पनि तपाँइका कार्यशैलीले ‘कोमा’ मा छन् ।
प्रचण्डज्यु ,अब त स्वीर्कानोस् र सार्वजानिक रुपमा भनिदिनोस् । जनयुद्ध गलत थियो । ब्यवहारबाट प्रमाणित भैसक्यो । तपाँइको बोलीलाइ अझैपनि बिस्वास गर्ने कोहि भए तिनले पनि समयमै सुन्न पाउन् ।
(लेखक गोर्खाको हंसपुरका शहिद माधव अधिकारीका सुपुत्र हुन्। )