मलेसिया: जहाँ राजा पनि निर्वाचित हुन्छन्.

गुगलपाटी संवाददाता
११ माघ २०७५ ०२:२९

सिन्ह्वा, क्वालालम्पुर : मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ। संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन्।

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार आगामी बिहीवार उनले पद बहाली गर्नेछन्। यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि नयाँ राजा चयन गरिएको हो।

मुस्लिम बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयाअधि नसकिँदै राजीनामा दिने उनी पहिलो राजा हुन्। उनले रूसकी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएका हुन्। यद्यपि यसबारेमा औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन। राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय राजा सुल्तानले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए। राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए। मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन छ। त्यही परम्पराअनुसार ५९ वर्षीय अब्दुल्ला पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन्।

नयाँ राजा अब्दुल्लाका पिता सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए। अस्वस्थताको कारण देखाउँदै उनका पिताले पद त्याग गरेका थिए। नयाँ राजा अब्दुल्ला खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुन्। उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भइसकेका छन्। उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्।

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रूपमा घोषणा गरिएको छ। यसअघि पनि कार्यवाहक राजाको जिम्मेवारी सम्हालेका भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रूपमा फेरि पाँच वर्षका लागि निरन्तरता दिइएको हो।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन्। उनीहरूबाट प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने हुन्छ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षानिकायका पदेन प्रमुख हुने व्यवस्था छ। बहुसंख्यक मुसलमानले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन्।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ। राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था छ। मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गर्भनर छन्। ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणालीमार्फत पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा छ। प्रायः पालो कुरेर बसेका सुल्तान पालै पालो राजा हुन्छन्।