शिक्षक आन्दोलनका कारण मकवानपुरका सामुदायिक विद्यालय ठप्प
गुगलपाटी संवाददाताहेटौंडा– विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका राहत शिक्षक र बाल विकास शिक्षकहरुले आम शैक्षिक अड्ताल आह्वान गरेका कारण आज मकवानपुरका सम्पूर्ण सामुदायिक विद्यालय ठप्प भएका छन् । राहत शिक्षकको अनिश्चितकालीन शैक्षिक हड्ताल तथा मागप्रति अन्य शिक्षक संगठनले पनि ऐक्यवद्धता जनाएसँगै आजदेखि मकवानपुरका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको हो ।
३ नम्बर प्रदेश राजधानीमा रहेको भुटनदेवी मावि, आधुनिक मावि, सिद्धार्थ मावि, अमर मावि, स्रोत केन्द्र रहेको हेटौंडा–१४ स्थित जनज्योति माविलगायतका जिल्लाका अन्य ग्रामीण भेगमा रहेका विद्यालय पनि ठप्प रहेको राहत शिक्षक समिति मकवानपुरका सचिव विशाल अधिकारीले जानकारी दिए । आफ्ना माग सम्वोधन नगरी सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत राहत शिक्षक संगठन केन्द्रीय समितिले आज मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको हो ।
केन्द्रीय निर्णयअनुसार समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पौड्याल र सचिव विशाल अधिकारीले निकालेको संयुक्त अपिल जारी गरी विद्यालय अनिश्चितकालका लागि बन्द गर्न आह्वान गरेका थिए । राहत शिक्षकको आन्दोलनमा मकवानपुरका शिक्षकका अन्य पेशागत संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ मकवानपुर, माध्यमिक विद्यालय शिक्षक युनियन, मकवानपुर, नेपाल शिक्षक संघ नगर कार्य समिति हेटौंडाले पनि राहत शिक्षकको जायज माग पूरा गर्न आग्रह गरेको छ ।
शिक्षकहरुको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यवद्धता रहेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी नेपाली काँग्रेसको संघीय संसदीय दलले पनि शिक्षकहरुमाथि सरकारले गरेको दमनको घोर भत्र्सना गरेको छ । साथै उनीहरुको जायज माग पूरा गर्न माग गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गरी शिक्षकहरुमाथि अमानवीय कार्य भएको भन्दै निन्दा गरेको छ ।
आइतवार र सोमबार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको थियो । प्रहरी कार्वाहीमा केही शिक्षक घाइते समेत भएका छन् । माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरुलाई वानेश्वर पुगेपछि प्रहरीले रोकेको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।
पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । शिक्षकहरुको टाउकोमा चोट लागेको छ भने लाठीले निलडाम बसेको छ । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।
अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरबन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । शिक्षकहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राख्ने जनाएका छन् ।