भारतबाट भित्रिएको बर्ड फ्लुले देशभर समस्या

गुगलपाटी संवाददाता
२५ चैत्र २०७५ ०१:३९

हेटौंडा– भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो। तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन।

चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए। कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ।

नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ। ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न।’

हेटौंडामा बर्डफ्लु देखिएको दुई महिना बित्न लाग्यो। तर यो नियन्त्रणमा आएको छैन। नियन्त्रणमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेका कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो। फागुन १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गरिका थिए। बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्रीबितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान थालेको थियो।

प्रशासनले थाल्यो अनुसन्धान

किसालने पालेका कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि फैलिएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुसन्धान थालेको छ। चैत ३ गते गते आधा दर्जन खोरमा पालिएका कुखुराको नमुना पठाउँदा चैत ५ गते नै बर्डफ्लु पुष्टि भएपछि दुई सातासम्म प्रतिवेदन लुकाएको आशंकमा प्रशासनले छानबिन थालेको हो।

त्यसयता एक दर्जनभन्दा बढी किसानले पालेका कुखुराको नुमना पठाउँदा प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै प्रतिवेदन दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘प्रयोगशालाबाट रिपोर्ट ढिला आउँदा बर्डफ्लु प्रभावित क्षेत्रका बिक्री गर्न योग्य कुखुरा देशका विभिन्न ठाउँमा पुगे’, तामाङले भने, ‘त्यसपछि काठमाडांै, भक्तपुर, चितवनलगायत ठाउँमा पनि बर्डफ्लु देखिन थालेको हो।’

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडासँग रिपोर्ट ढिला आउनेबारे जानकारी लिन पत्र काटिएको र जवाफ आइनसकेको उनले बताए। ‘प्रयोगशाला र हेटौंडा केन्द्रका कर्मचारीको लापरबाहीले समयमा नै बर्डफ्लु रोग नियन्त्रणमा लिन सकिएन’, उनले भने, ‘यो किन र कसरी भयो, कर्मचारीको भूमिकाबारे छानबिन भइरहेको छ।’

हेटौंडाको ६, ७ र १६ नम्बर वडाका केही किसानले पालेका कुखुराको नमुना परीक्षणको काम भइरहेको तामाङले बताए। ‘अझै बर्डफ्लु पूर्ण नियन्त्रणमा आएको छैन’, उनले भने, ‘हालसम्म नष्ट गरिएको कुखुराको संख्या करिब ५६ हजार छ।’

धमाधम कुखुरा मर्न थालेपछि कुखुरा व्यवसायी संघ मकवानपुरले रानीखेत रोगका कारण कुखुरा मरेको दाबी गर्दै बजारमा कुखुरा बिक्रीवितरण गरेको थियो। ‘बर्डफ्लु मरेको कुखुराको बिमा कम्पनीबाट पैसा नआउने भएपछि कुखुरा व्यापारीहरूले रानीखेत रोग देखाएर देशभर रोगी कुखुरा बिक्रीवितरण गर्ने काम भएको हो’, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु अधिकारीले भने, ‘कुखुरा व्यवसायीसँगको मिलेमतोमा पशुसेवाका कर्मचारीले रोगी कुखुरा बिक्रीवितरण गर्ने काम गरेको छ, यसबारे कडा छानबिन गर्न हामीले माग गरेका छौं।’ रोगी कुखुरा बिक्रीवितरण गरिँदा देशका अन्य क्षेत्रमा पनि बर्डफ्लु सरेको उनको दाबी छ।

किसानलाई क्षतिपूर्ति दिन पहल

कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले बर्डफ्लु पूर्ण नियन्त्रणमा आइनसकेको बताए। ‘५÷१० प्रतिशत बाँकी छ, हामी क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘ढिला रिपोर्ट आउनु र अन्यत्र पनि बर्डफ्लु देखिनु हाम्रो गल्ती होइन।’ किसालाई क्षतिपूर्ती दिलाउन संघले पहल गरिरहेको उनले बताए। जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले सरोकारवाला पक्षको सहमतिमा प्रतिगोटा जिउँदो लेयर्स ९ सय रुपैयाँ, ब्रोइलर चार सय रुपैयाँ, दाना प्रतिकेजी ६५ रुपैयाँ र अन्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

यो समाचार आजको अन्नपूर्ण पोष्टमा कृष्ण सारुमगरले लेखेका छन् ।