अख्तियार दुरुपयोग अनुसन्धान मार्फत ठेक्का सम्बन्धि दुई फाईल नियन्त्रणमा
गुगलपाटी संवाददाता नवलपरासीअख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार ठेक्का सम्बन्धि दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो ।
सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी दुई स्थानमा नदीजन्य सामग्री निकाल्नका लागि ठेक्का लगाएको थियो ।
टोलीले पानभारखोला जर्गाह पुलदेखि उत्तरसँग सम्बन्धित ७७ प्रति र पानभारखोला जर्गाह पुलदेखि दक्षिणसँग सम्बन्धित ८९ प्रति कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियार टोलीले खोलाक्षेत्रको समेत अनुगमन गरेको आयोग बुटवलले जनाएको छ । अख्तियार टोलीले सो ठेक्कासम्बन्धी दुई फाइल लगेको सुनवल नगरपालिकाको कार्यालयले जनाएको छ ।