हेटौंडामा सुरक्षा परिषद् बैठकः प्रदेश सरकारलाई बाइपास

गुगलपाटी संवाददाता
४ बैशाख २०७६ ०१:२८

हेटौंडामा हिजो मंगलबारबाट प्रदेशस्तरीय सुरक्ष परिषद् बैठक सुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा भएको बैठकमा १३ वटै जिल्लाको सुरक्षा रणनीति बलियो बनाउने बारे छलफल भइरहेको छ । तर, गोष्ठीमा ३ नम्बर प्रदेश सरकार भने बेखबर रहेको छ । प्रदेशका मुख्यमन्त्री, प्रदेशको गृहमन्त्री मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रीलगायत कोही पदाधिकारीलाई पनि निम्ता गरिएन । बैठकमा सहभागी गराइएन । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री र गृहमन्त्रीलाई नबोलाइएको भन्दै मन्त्रीले आपति जनाएका छन् । सुरक्षा जस्तो संवेदनशील विषयमा भएको गोष्ठीमा मुख्यमन्त्री र आफूलाई नबोलाएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आपति जनाए ।

प्रदेश सरकारले संघीय सरकारलाई सघाउने तर ंसंघीय सरकारले भने प्रदेश सरकारलाई बेवास्ता गर्ने परिपाटी राम्रो नभएको मन्त्रीको विश्लेषण छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई प्रहरी परिचालनको अधिकार भने संघीय सरकारले दिएको छैन । जिल्लाका प्रहरी र प्रमुख जिल्ला अधिकारी पनि प्रदेश मन्त्रीको मातहतमा छैनन् ।

तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरक्षा निकायका उच्च अधिकारीहरु सहभागि भएका छन् । गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य निर्देशक गणेश अधिकारी सहभागी छन् ।

दुई दिने गोष्ठीमा आज बुधबार गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागि हुने कार्यक्रम छ । १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु गरी ६५ जना सहभागी छन् ।