बिप्लव समुहलाई मुलधारमा ल्याउने प्रयत्न जारी : बादल
गुगलपाटी संवाददाता हेटौंडागृहमन्त्री रामबहादुर थापा (बादल) ले बिप्लव समुहलाई मुलधारको राजनीतिमा ल्याउन प्रयत्न जारी रहेको बताएका छन् । हेटौंडामा जारी दुई दिने तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा आज बिहान सञ्चारकर्मीहरुसँग बोल्दै थापाले बिप्लव समुहमाथि प्रतिबन्ध लगाएपनि बार्ताको ढोका खुल्ला रहेको बताएका हुन् ।
कानून बमोजिम नै बिप्लव समुहमाथि प्रतिबन्ध लगाएको उनले बताए । ‘संविधान बिपरित हिंसात्मक गतिबिधि गर्ने जो कोहीलाई पनि कारबाही गरिन्छ,यो वा त्यो समुह भन्ने हुँदैन’,उनले भने । सरकारले सुरक्षा चुनौतीहरु पन्छाउँदै गएका उनको भनाई छ ।
सुरक्षा ब्यवस्था मजदुबत हुँदै गएको थापाको दाबी छ । सुरक्षा गोष्ठीमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, राजनीतिक सल्लाहकार सुर्य सुवेदी (पथिक) नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य निर्देशक गणेश अधिकारीले केन्द्रीय सुरक्षा योजना, नेपाली सेनाका मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि सुबर्ण बहादुर शाह सहित १३ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहभागि छन् ।