कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड
गुगलपाटी संवाददातानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्।
‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको दावी गरे।
‘जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आएको थिएन, जति अहिले आएको छ’, उनले भने, ‘कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्को पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु।’
उनले अगाडि थपे, ‘एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्कोतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन्।’ पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अब एकतालाई कसैले रोकेर रोकिँदैन।’ जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उनको भनाइ थियो।
बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताए। विभाजित कांग्रेस पनि एक हुँदा राम्रो हुने बताउँदै उनले भने, ‘विभाजित कांग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी छ।’
अहिलेको कांग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको प्रचण्डको भनाइ थियो। उनले भने, ‘बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट कांग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो।’
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि कांग्रेससँग सहकार्य हुनसक्ने भन्दै उनले भने, ‘यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस्।’
भोलि देशमा अलकादवादी, विखण्डनवादी धार आयोभने कांग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उनले भने, ‘कांग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ।’
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका प्रचण्डले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए। उनले भने, ‘यो लडाइँमा सत्यको विजय अवश्य हुन्छ।’