१३ वर्षको उमेरमा २३ गोल गर्ने रोनाल्डिन्हो

गुगलपाटी संवाददाता अंकुर
२९ बैशाख २०७६ ०६:३९

रोनाल्डिन्होले १३ वर्षको उमेरमा एक स्थानीय टिमविरुद्ध एक्लै २३ गोल ठोके। विपक्षीले एक गोल पनि गर्न नसकेको त्यो खेलपछि उनी मिडियामा पहिलोपल्ट चर्चामा आए। उनले सन् १९९७ मा मिश्रमा आयोजित यू १७ वल्र्ड च्याम्पियनसिपमा पेनाल्टी किकमा दुई गोल गर्दै उदीयमान खेलाडीका रूपमा आफ्नो पहिचान बनाएका थिए।

रोनाल्डिन्हो पूर्वब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन्। फुटबल मैदानमा उनी मुख्यतः आक्रामक मध्यपंक्तिमा खेल्थे। उनले युरोपेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन तथा एसी मिलानका लागि पनि लामो समयसम्म फुटबल खेले। फुटबल विशेषज्ञहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीका रूपमा व्याख्या गर्ने गरेका छन्।

स्पेनी क्लबमा खेल्दै गर्दा उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जित हासिल गरेका थिए। त्यसो त सन् २००५ मै उनले बेलोन डी ओरको सम्मान प्राप्त गरे। जनवरी २००७ मा उनी स्पेनी नागरिक बने।

रोनाल्डिन्होको जन्म ब्राजिलको सहर रियो ग्रान्ड डो सुलको सदरमुकाम पोर्टो एलेग्रेमा भएको थियो। एक कारखानामा कार्यरत उनका बुवा पनि एक स्थानीय क्लबमा फुटबल खेलाडी थिए। रोनाल्डिन्होमा फुटबल खेलकौशल आठ वर्षको हुँदा बढ्न थालेको थियो। तर त्यही बेला उनको बुवाको निधन भयो।

खासमा रोनाल्डिन्होको खेलजीवनको सुरुआत जर्मियोको युवा टिमबाट भयो। ठूलो टिमबाट उनको खेलजीवनको सुरुआत सन् १९९८ को कोपा लिबर्टाडोर्सबाट भयो। सन् २००१ मा उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मिनमा अनुबन्ध भए। उनले यस क्लबलाई कुप डे ला लिग २००१/०२ संस्करणमा सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। पछिल्लो सिजनमा क्लब सबैजसो युरोपेली प्रतियोगिताहरूमा असक्षम भएपछि उनले क्लब छाडे। पछि बार्सिलोनामा आबद्ध भए।

सन् २००४÷०५ मा रोनाल्डिन्होले आफ्नो पहिलो लिग शीर्षक जिते। सन् २००४ र ०५ मा फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भए। सन् २००५ मै उनी वर्षको युरोपेली खेलाडी पनि घोषित भए। उनले सिजनको अन्त्यसम्ममा सबै प्रतियोगितामा करिअरको उत्कृष्ट २६ गोल गरेका थिए।

३ फेब्रुअरी २००८ मा रोनाल्डिन्होले ओसासुनाकोविरुद्ध बार्सिलोनाका लागि आफ्नो करिअरको दुई सयौं लिग म्याच खेले। उनको २००७/०८ को अभियान पूरै चोटग्रस्त भएर बित्यो।

जुलाई २००८ मा, रोनाल्डिन्हो मिलान क्लबमा आबद्ध भए। उनले सबै प्रतियोगितामध्ये ३२ खेल खेलेर १० गोल गर्दै मिलानमा आफ्नो पहिलो सिजन समाप्त गरे। पछि उनी फ्लामेंगो क्लबमा आबद्ध भए।

रोनाल्डिन्हो ब्राजिलका थोरै खेलाडीमध्ये एक हुन्, जसले हरेक उमेर समूहको अन्तर्राष्ट्रिय स्तरको खेल खेले। पहिलोपल्ट सन् १९९७ मा ब्राजिलको टिमले फिफा यू १७ विश्व च्याम्पियनसिप जित्दा रोनाल्डिन्हो पनि उक्त टिममा समावेश थिए।