राजधानी विषय संसदमा, काभ्रे पहिलो नम्बरमा हेटौंडा अन्तिममा
गुगलपाटी संवाददाताहेटौंडा; ३ नम्बर प्रदेशको स्थायी राजधानी तोक्न प्रदेश सभामा कार्यविधि दर्ता भएको छ । कार्यव्यवस्था परामर्श समितिको वैठकबाट कार्यविधि संंसदमा दर्ता गर्ने निर्णय पारित भएपछि नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालको प्रस्ताव प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक राधा घलेको समर्थनमा कार्यविधि आज संसदमा दर्ता भएको हो ।
नेपालको संविधान, प्रदेश सभा नियमावली, प्रदेश सभाको स्थायी राजधानीको समितिको प्रतिवेदनको आधारमा कार्यविधि पेश भएको हो । कार्यविधिमा प्रदेशको राजधानी र नामाकरणको विषय संंसदमा कसरी छलफल गर्ने भन्ने प्रक्रिय ारहेको छ । प्रदेशको राजधानीका लागि प्रदेश सभा सदस्यहरुको हस्ताक्षरको आधारमा मत विभाजन हुनेछ । स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न बनेको समितिको प्रतिवेदनमा उल्लेख भएको सभ्भावित राजधानीको स्थानहरुलाई वर्णानुक्रम अनुसार पेश गरिने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ । त्यसकारण पहिले काभ्रेको लागि मतदान हुन्छ भने अन्तिममा मकवानपुरको लागि मतदान हुने देखिएको छ । लामो दवाव पछि प्रदेश सभामा प्रतिबेदन पेश भएपनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र स्थायी राजधानी सम्बन्धी प्रतिवेदन प्रदेश सभा बैठकमा पेश भएको थियो । प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।