प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव

गुगलपाटी संवाददाता
३१ बैशाख २०७६ १५:१५

हेटौंडा; दोलखा–१ का प्रदेशसभा सदस्य विशाल खड्काले प्रदेश–३को नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव गरेका छन््। सांसद खड्काले प्रदेशसभाको संसद सचिवालय र नेकपाको प्रदेश–३ संसदीय दलको कार्यालयमा मंगलबार एकसाथ प्रदेशको नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेश राजधानीको विषयमा विवाद चलिरहेको बेला सांसद खड्काले प्रदेशसभाको सचिवालयमा नामको विषयमा पहिलोपटक प्रस्ताव दर्ता भएको दावी गरे । नेपाल कम्युनिष्ट पार्टीको संसद सचिवालयमा प्रस्ताव पेश गरे लगत्तै सांसद खड्काले संसद सचिवालयमा पनि प्रस्ताव दर्ता गराएका हुन् ।
उनले ६ ओटा आधार सहित प्रदेशको नाम गौरीशंकर उपर्युक्त हुने भन्दै प्रस्ताव दर्ता गराएका छन् । सांसद खड्काले प्रस्तुत गरेको आधारमा रोल्वालिङ हिमश्रृङखलामा पर्ने गौरीशंकर हिमाल पवित्र हिमाल भएका कारण सोही हिमालको नामबाट प्रदेशको नाम राख्नु पर्ने उल्लेख छ ।
दर्ता गराएको प्रस्तावमा धार्मिक एकता, सांस्कृतिक विविधता, नेपालको प्रामाणिक समय र भौगोलिक पहिचान सहितको नाम गौरीशंकर राख्न उपर्युक्त भएका कारण गौरीशंकर उपर्युक्त नाम हुने आधार पेश गरिएको छ । नेपालको अन्तराष्ट्रिय पहिचान हिमाल र बुद्धको देश भए पनि प्रदेश–१ बाहेक अन्य प्रदेशको नाम हिमालबाट राखिने सम्भावना कम भएका कारण पनि प्रदेशले हिमालकै नाम राख्न उपर्युक्त हुने तर्क गरेका छन् । अन्नपुर्णमा समाचार रहेको छ ।