कक्षा ११ को परिक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा शिक्षिका पक्राउ
गुगलपाटी संवाददाता सप्तरीसप्तरीमा कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गरेको अभियोगमा बुधबार एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको राजदेवी ठाकोदेवी-जोगेन्द्र भगत मावि परीक्षा केन्द्रमा गार्डका रूपमा खटिएकी सोही स्कुलकी शिक्षिका वीभा यादवलाई प्रहरीले पक्राउ गरेको हो।
कक्षा ११ को जारी परीक्षाअन्तर्गत आज (बुधबार) इन्ट्रोडक्सन अफ एजुकेसन विषयको जाँच भएको थियो।
परीक्षा समय सकिएपछि सिम्बल नम्बर ६१५०००२४ रहेको उत्तर पुस्तिका झिकेर विद्यालयको कार्यालय कक्षमा लगी आफैँले उत्तर लेखिरहेका बेला शिक्षिका यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सोही परीक्षा केन्द्रमा खटिएको नेपाल प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीया शिक्षिका यादवलाई परीक्षाको मर्यादाविपरीत कसुरमा राजविराजस्थित सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ।