सगरमाथाको उचाई नाप्ने टोली चुचुरोमा
गुगलपाटी संवाददाताविश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको पुष्टि गरेका छन् ।
प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको जोशीले बताए । टोलीले हिउँ सतह र चट्टानी सतह दुवैका उचाइ मापन गर्दैछ । जतिबेला नापी विभागको एउटा टोली सगरमाथा शिखरमा थियो त्यतिनै बेला अन्य छ वटा स्टेशनमा पनि सोही उपकरणले काम गरिरहेको जोशीले बताए । ग्लोबल डेभिगेशन स्याटेलाइट सर्बे लगायतका सबै काम सगरमाथा शिखर र अन्य जमिनी सतहमा भइरहेका छन् ।
सरकारी टोली सगरमाथा शिखरमा पुगेर उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता लाग्ने भने होइन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने महानिर्देशक जोशीले बताए ।