उत्खननका क्रममा भेटियो राजाले लुकाएको सम्पत्ति, स्थानियका लुटालुट
गुगलपाटी संवाददाता एजेन्सीकाठमाडौं – भारतको राजस्थानस्थित जोधपुरमा एक मठमा निर्माण कार्य भइरहँदा भुइँमुनिबाट चाँदीको सिक्का निस्कन थाल्यो ।
मानिसहरूले मठबाट खजाना निस्केको थाहा पाएपछि त्यहाँ भेला भए र सिक्का लुटेर घर लगे । प्रहरी हेरेको हेर्यै भयो ।
जोधपुरभन्दा ४० किलोमिटर टाढा रहेको सालवा कलाँ गाउँको प्राचीन मठमा निर्माण कार्य चलिरहेको छ । उत्खननका क्रममा चाँदीका केही प्राचीन सिक्का फेला परेका थिए ।
सिक्का मुगलकालको भएको र तिनमा मुहम्मद शाह लेखिएको बताइएको छ । भारतीय पुरातत्त्व सर्वेक्षण विभाग जोधपुरका प्रहरी अधीक्षक भीएस बडिगरले यी सिक्काहरू सन् १७१९ देखि १७४८ सम्म प्रचलनमा रहेको बताए ।
सिक्काहरूमा फारसी भाषा प्रयोग भएको छ । सिक्काको एक पाटोमा बादशाह मोहम्मद शाह लेखिएको छ । प्रत्येक सिक्काको तौल ११।३७ ग्राम छ ।
दुई दिनअघि मठमा उत्खनन गर्दा अनेकौं हाँडीहरू भेटिएको र तिनमा प्राचीन सिक्का र आभूषण भरिएको गाउँलेहरूले बताए । तिनै हाँडी लिएर गाउँलेहरू भागेका हुन् ।
सिक्का भेटिएको सूचना पाइएपछि प्रहरी घटनास्थलमा पुग्यो तर मानिसहरूलाई सिक्का लुट्नबाट रोक्न सकेन । गाउँका बालबालिकादेखि वृद्धसम्मले सिक्का खोज्नका लागि उत्खनन गरे ।
पाँच सयभन्दा बढी सिक्का मानिसहरूले लुटेर लगेको बताइएको छ । प्रहरीले मानिसहरूलाई हटाउने प्रयास गरेको भए पनि गाउँलेले टेरेनन् ।