विराटनगरको मध्यबजारमा पार्क बन्दै
गुगलपाटी संवाददाता विराटनगरविराटनगरको अति व्यस्त बजार गुदरीमा पार्क बन्ने भएको छ। पार्क बनाउन विराटनगर महानगरपालिकाले ७० लाख रूपैयाँ विनियोजन गरेको छ। वडा नम्बर ९ स्थित ‘ए’ र ‘बी’ प्लटमा खाली रहेको १ कठ्ठा १६ धुर जग्गामा पार्क बनाउने अवधारणा महानगरले ल्याएको हो।
नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले संसद विकास कोसबाट सो पार्कका लागि ४८ लाख रूपैयाँ दिने निर्णय गरेका छन्। लगानीको सुनिश्चितता भए पछि सोमबार उक्त पार्क शिलान्यास पनि गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले उक्त पार्क शिलान्यास गरे। शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य कार्की, मेयर भीम पराजुली, उप–मेयर इन्दिरा कार्की, वडाध्यक्ष विश्वनाथ भगतलगायत थिए।
‘ए’ र ‘बी’ प्लटमा रहेको खुद्रा पसल हटाइएपछि लामो समयदेखि उक्त स्थान खाली थियो। उक्त स्थानमा व्यापारिक भवन बनाउने योजना थियो।
तर, आपतकालीन अवस्थामा बजार घुम्ने व्यक्ति तथा उपभोक्तालाई आराम गर्ने ठाउँ नभएको भन्दै विराटनगर महानगरपालिकाले ‘ग्रिनरी पार्क’को अवधारणा ल्याएको हो।
उक्त स्थानमा फुलबारी, बोटविरुवा, विश्रान्ती, पानीको पोहरा, फ्रि वाईफाईसहित लाइटिङ प्रणालीको पार्क बनाइने ईञ्जिनियर अर्जुन थापाले बताए। ‘मध्य बजारमा उपभोक्तालाई लक्षित गरेर आरामको व्यवस्था गर्न पार्क बनाउने योजना हो,’ थापाले भने।
चालू वर्षमै निर्माण थालेर दुई वर्षभित्र पार्क निर्माण सम्पन्न गर्ने महानगरको योजना रहेको उनले बताए। उनका अनुसार यो ठाउँ व्यावसायिक प्रयोजनमा हुने छैन।
पार्क निर्माणको लागत अनुमान १ करोड ८ लाख हो। संसद विकास कोषबाट पनि रकम प्राप्त भएकाले बजेट पर्याप्त जुटेको उनले बताए।
पार्कका लागि फराकिलो ठाउँ उपयुक्त मानिन्छ। आम मानिसलाई साँघुरो क्षेत्रको पार्कले सम्बोधन गर्न नसक्ने व्यवसायीहरू बताउँछन्। ‘ठूला देशहरूमा सहरको बीचमा पार्क बनाउने चलन छ, यो आफैंमा राम्रो पनि हो,’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘सकारात्मक कार्यको थालनी हो, तर फराकिलो ठाउँ रोजेको भए उपयुक्त हुन्थ्यो।’
गुदरी विराटनगरको मेनरोडको किनारमा छ। मेन रोडमा ठूला व्यापारिक कम्प्लेक्स र कपडा पसलहरू छन्।
भवन शिलान्यास गर्दै डा। कोइरालाले जनचाहना सम्बोधन गर्ने किसिमले पार्क निर्माण गर्नुपर्ने बताए। यो मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ। गत चुनावमा नेकपा नेता लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए।
मेयर पराजुलीले नगरबासीका लागि पार्क एउटा ‘राम्रो उपहार’ हुने बताए। ‘आपतकालीन स्थितिमा सुरक्षित स्थान र अन्य बेला आरामस्थल हुनेछ,’ उनले भने।