पिएम कप क्रिकेटको फईनलमा नेपाल पुलिस क्लब
गुगलपाटी संवाददाता काठमाडौंनेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु मैदान किर्तिपुरमा बिहिबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई ५ विकेटले हरायो ।
टर हारेर पहिले ब्याटिङ गरेको एपीएफले २१।१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रन बनाएको थियो । खराव प्रदर्शन गरेको एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो संख्यामा रन जोड्न सकेनन् । शरद भेषवाकर र पृथु बास्कोटाले सात सात रन बनाए । अमर सिंह रौटेलाले ६ र सन्दीप जोरा ५ रनमा आउट भए । एपीएफलाई सस्तैमा समेट्न पुलिसका ललित नारायण राजवंशीले चार विकेट लिए । कुशल भुर्तेल र सागर ढकालले तीनतीन विकेट लिए ।
४२ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ९।३ ओभरमा पाँच विकेटको क्षतिमा ४५ रन बनायो । पुलिसको जितमा पवन सर्राफले अविजित २१ रन बनाए । दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए । बलिङमा एपीएफका बसन्त रेग्मीले तीन विकेट लिए । शरद भेषवाकरले दुई विकेट लिए । फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले प्रदेश ३ लाई हराएर फाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेताले २० लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।