बलात्कारको आरोपी मनहरीका शिक्षक जेल चलान

गुगलपाटी संवाददाता हेटौंडा
२८ जेष्ठ २०७६ १२:५१

बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले शिक्षकसहित २ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले मनहरी गाउँपालिका-६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिक्षक लामालाई गत वैशाख १८ गते पक्राउ गरेको थियो ।

यसैगरी १४ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश स्वीकृती पराजुलीको मंगलबारको इजलाशले हेटौंडा उपमहानगरपालिका-५ का ३७ वर्षीय हिरालाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिका-२ की बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

अभियुक्त चौलागाईले गत वैशाख २२ गते बालिकालाई कोठामा एक्लै भएको अवस्थामा बलात्कार गरेको आरोप लागेको थियो । उनीहरुलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ । स्रोत :कान्तिपुरदैनिक

तपाईको प्रतिक्रिया