टिप्परको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु

गुगलपाटी संवाददाता सुर्खेत
२९ जेष्ठ २०७६ ०९:२८

सुर्खेतमा क्रियाशील पत्रकार नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मंगलवार निधन भएको छ ।

मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बा ५ ख १६८३ नम्बरको टिप्परले भेरी गंगा नगरपालिका वडा नं। ८ लोदेमा रुकुमबाट सुर्खेतको छिन्चु आउँदै गरेको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार टिप्पर चालक फरार रहेका छन् । चालकको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका गेलाङ सुर्खेत पहिचान दैनिकका सम्पादक समेत हुन् ।

उनी लेकबेसी-७ कल्याण घर भई वीरेन्द्रनगरमा विगत लामो समय देखि बस्दै आइरहेका थिए ।स्रोत : लोकान्तर