कर्मकाण्डी बजेटले आर्थिक छलाङ्ग मार्न सक्दैन : डा. भट्टराई

गुगलपाटी संवाददाता काठमाडौं
६ असार २०७६ ०६:४४

अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेत केबल परम्परा धान्य कर्मकाण्डी खालको मात्र आएको टिप्पणी गरेका छन् ।

संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्ने क्रममा डा.भट्टराईले आर्थिक वर्षको बजेट पञ्चायतदेखिकै निरन्तरता भएको आरोप लगाएका छन् ।

सभामा भट्टराईले पञ्चायत कालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन प्रणालीमा आइपुगिसक्दा समेत बजेटको ढाँचा परिवर्तन हुन नसकेको बताए ।

दुईतिहाई बहुमत सहितको सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक सम्बृद्धिमा ठूलो छलाङ्ग मार्ने अपेक्षा गरिएपनि बजेटपछि त्यो निराशामा परिणत भएको बताएका छन् ।

‘आय व्ययको संरचना पञ्चायतदेखि अहिलेसम्म केहि परिवर्तन भएन । जुन हाम्रो आयको स्रोत थियो त्यो उही नै छ र व्ययको प्रणाली पनि उस्तै छ । हामीले व्ययको तीन भाग रहेकोमा सोही अनुरुप हामीले खर्च गरिरहेका छौँ । अहिले पनि हामीले बजेटको ६२–६३ प्रतिशत खर्चमै व्यवस्था गरिरहेका छौँ । यता, आयको पनि उस्तै हालत छ । जम्मा जम्मी ३६–३७ प्रतिशत मात्र आयको स्रोत छ । यो दुखको कुरा हो । हुनुपर्ने आय ६२–६३ प्रतिशत र व्ययको अवस्था ३६–३७ प्रतिशत हो । तर हाम्रोमा ठीक उल्टो छ ।’

उनले नामधारी कम्युनिष्ट सरकारले ल्याएको बजेटले आर्थिक छलाङ्ग मार्ने खालको बजेट ल्याउन नसकेको समेत आरोप लागाए । अर्थतन्त्र बुझेको अनुभवी अर्थमन्त्री भएपनि विभिन्न समस्या प्रभाव दबाबमा परेर प्रभावकारी बजेट ल्याउन नसकेको भट्टराईको भनाई छ ।

समाजवाद उन्मुख आर्थिक सम्वृद्धि हाम्रो लक्ष्य भएपनि पहिले स्रोत अर्थात् पहिले उत्पादन गर्ने र वितरणमा जानु पर्ने उनको भनाई छ । उत्पादन नै नभई विरतणमा मात्र जानाले मुलुकमा आर्थिक संकट आउन सक्ने उनको जिकिर गरे ।

जम्मा जम्मी एक हजार डलर प्रतिव्यक्ति आम्दानी रहेको मुलुमा १२–१५ खर्बको बजेटले सबैलाई वितरण गर्दा त्यसले हामीले लक्ष्य राखेको आर्थिक सम्वृद्धिमा पुग्न नसकिने उनले उनको भनाई छ ।

यसैसमयमा डा.भट्टराईले सरकारलाई सुझाव दिने क्रममा आर्थिक सम्वृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए । कृषि, पर्यटन तथा भौतिक पुर्वाधार विकास विना आर्थिक सम्वृद्धि नआउनको उनको भनाई रहेको छ ।