अत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा
गुगलपाटी संवाददाता काठमाडौंअत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्न विज्ञापन गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेको छ । विभिन्न ब्यवसायका लागि न्यून कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मार्केट पर्श ग्लोबल कम्पनी राष्ट्र बैंकको कारबाहिमा परेको हो ।
राष्ट्र बैंकले सो कम्पनीमाथि कारबाही प्रक्रिया बढाएको छ । बैंकले उक्त कम्पनीको कर्जा प्रवाहमा नै रोक लगाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०७५ को दफा ७६ बमोजिम कुनै पनि कम्पनीले निक्षेप लिन वा कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्छ । तर मार्केट पर्श ग्लोबल कम्पनीले नेपाल राष्टै बैंकको स्वीकृति विनानै कर्जा प्रवाहको विज्ञापन निकालेकाले उक्त कम्पनीमाथि कर्जा प्रवाहमा रोक लगाउनु परेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ३१ बमोजिम बैंक तथा वित्तीय संस्था बाहेक अन्य कुनै कम्पनीले बैकिङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने कानुनी ब्यवस्था छ । साथै राष्ट्र बैंकले कुनै कम्पनीले त्यस्ता कानुनविपरीत काम गरे वा गराएमा कानुन बमोजिम कारवाहि गर्ने समेत जनाएको छ ।
इंडियन कम्पनी मार्केट पर्श ग्लोबल कम्पनीले क्यासीनो, होटल, रिसोर्ट, अस्पताल, स्कुल, कलेज, जस्ता ब्यवसाय गर्नको लागि ६ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको कर्जा उपलब्ध गराउने भन्दै कम्पनीको वेबसाइट, इमेल र मोबाइल नम्बरसहित राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गरेको थियो ।