अर्की अविवाहित युवतीले भने साथीहरूसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको अपरिचितले पाखुरामा च्वास्स घोचेर भागेको बताएकी छन् । डीएसपी सुवेदीले दुवै घटनाको प्रकृति एउटै देखिएको र समय र क्षेत्र पनि एउटै रहेको बताए । उनले भने, ‘घटना भएको भनिएको क्षेत्रमा व्यापक प्रहरी परिचालन र निगरानी बढाइएको छ ।’
एउटै प्रकृतिको घटनाको विवरण बाहिर आएपछि सर्वसाधारणमा त्रास फैलिन थालेकाले प्रहरी परिसर काठमाडौंले टेकु, ढल्कु, कालीमाटी, पकनाजोल, स्वयम्भू र सोह्रखुट्टे क्षेत्रका कैयन् सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार राति र बत्ती नभएको वा मधुरो उज्यालो भएको क्षेत्रमा घटना भएकाले सीसीटीभी फुटेजबाट केही नयाँ तथ्य भने फेला परिसकेको छैन ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीले उक्त क्षेत्रमा सक्रिय शंकास्पद ५० व्यक्तिलाई बोलाएर सोधपुछ गरिसकिएको बताए । उनले भने, ‘केही क्लु फेला पारिसकेका छौं । डराउनै पर्ने अवस्था छैन ।’ प्रहरीले पाँचै घटना एउटै व्यक्तिबाट भएको आकलन गरेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार कोही मानसिक समस्या भएको व्यक्तिले अथवा कसैले त्रास फैलाउन यस्तो गरेको हुन सक्ने देखिन्छ । निवेदन दर्ता गराएका पाँच युवती विवाहित र अविवाहित दुवै भएकाले प्रेम सम्बन्ध वा यस्तै केही कारणले घटना नभएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ‘घरबाट बाहिरै निस्कन नमिल्ने गरी असुरक्षा फैलिएको भन्ने अफवाहमा सत्यता छैन । ढुक्क भएर हिँडदा हुन्छ,’ बोगटीले भने ।स्रोत : कान्तिपुर