विश्वभर तरङ्ग मच्चाउने तस्विर, दबाबमा अमेरिका

गुगलपाटी संवाददाता काठमाडौं
१२ असार २०७६ ०१:३८

 रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ ।

सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो ।

अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको फोटोले विश्वभर चर्चा पाएसँगै रिपब्लिकनको बहुमत रहेको सिनेटले विधेयक पारित गरेको हो ।

पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ ।

यसअघि डेकोक्रेटिकहरुको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले पनि अमेरिकी आप्रवासी संस्थाहरुलाइ दिने भनिएको सहायता सम्बन्धी विधेयक अस्वीकृत गरेको थियो ।

शरणार्थी बाबुछोरीको मृत्युको घटनापछि दुबै सदनका विधायकहरु विधेयकमा पुनर्विचार गर्न दबावमा परेका छन् ।

आप्रवासीको मृत्यु, बन्दीहरुको खराव अवस्था र बन्दी केन्द्रमा राखिएका बालबालिकाको जोखिमपूर्ण अवस्थाले आप्रवासीप्रति लिइदै आएको अमेरिकी नीतिबारेको बहसलाई बढाएको छ ।

बुधबार एक टीव्ट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले खुला सीमाना चाहन्थे र खुला सीमाना भनेको मानिसहरु नदीमा डुबिरहनु हो भनेका छन् ।

उनले अमेरिकाको दक्षिणी सीमामा जीवन जोगाउने हो भने डेमोक्रेटहरुले फौजदारी र शरणार्थी कानुन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

डेमोक्रेटहरुले दक्षिणी सीमामा समस्या छैन यो सबै कृतिम हो भनिरहँदा आज आफु सही भएको स्वीकार्न उनीहरु बाध्य भएको ट्रम्पले उल्लेख गरेका छन् ।

उनले शरणार्थी सम्बन्धी कानुनलाई व्यवस्थित गर्नमा सहयोगका लागि डेमोक्रेट सांसदहरुलाई आग्रह गरेका छन् ।

कसको हो तस्वीर ?

बाबुछोरी नदी किनारमा डुबेको उक्त तस्वीर अहिले विश्वभर भाइरल भइरहेको छ ।

तस्वीर अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले तरंग ल्याएको हो ।

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो ।

नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन् । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन् ।

उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन् ।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् ।

तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ ।

साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो । एजेन्सी