सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुर्व्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु (भिडियो सहित)

गुगलपाटी संवाददाता काठमाडौं
२७ असार २०७६ ०६:४८

स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन् ।

त्यसक्रममा कालोझण्डा देखाउँदै भएको हुलदंगाका कारण मन्त्री पण्डित बैठकमा सहभागी नभई फर्किएका छन् । बैठक समेत स्थगित भएको छ ।

मन्त्री पण्डित पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएको जावलाखेल प्रहरीले पुष्टि गर्‍यो ।

प्रदर्शनकारीले ‘लोक सेवाको विज्ञापन खारेज गर्, लालबाबु पण्डित राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ ।

त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र ढंगले परीक्षाको तयारी गरिरहेको छ ।

पहिलो चरणको परीक्षा यही साउन ३ गतेबाट शुरू हुँदैछ ।   स्रोत :  लोकान्तर

Gepostet von Gobinda Chhantyal am Donnerstag, 11. Juli 2019