जिल्ला अदालत मकवानपुरको ६० प्रतिशत मुद्धा फर्सोट

गुगलपाटी संवाददाता हेटौंडा
१ श्रावण २०७६ १२:५६

जिल्ला अदालत मकवानपुरले एक वर्षको अवधिमा करिब ६० प्रतिशत मुद्दा फस्र्योट गरेकोे जनाएको छ । जिल्ला अदालतले गतआर्थिक वर्ष(आव) २०७५/७६ मा दर्ता भएका दुई हजार तीन सय छ मुद्दामध्ये एक हजार चार सय १९ मुद्दा फस्र्योट गरेकोे जनाएको हो ।

अदालतले हेटौंडामा आयोजना गरेको गतआवको प्रगति प्रतिवेदन प्रस्तुती र आगामी चौथो पञ्चवर्षिय योजनाको बिशेषताबारे अन्तरक्रियामा यस्तो जनाईएको हो । अघिल्लो आव २०७४/७५ को बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गतआवमा एक हजार छ सय ६७ वटा मुद्दा परेका थिए ।

अदालतमा सबैभन्दा बढी दुनियाँवादी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फस्र्योट भई पाँच सय २७ बाँकी रहेका छन् भने दुनियाँवादी फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फस्र्योट भई एक सय ७६ बाँकी रहेका छन् । त्यस्तै, सम्बन्ध बिच्छेदको छ सय २५ मुद्दामध्ये चार सय ४९ मुद्दा फस्र्योट भई एक बर्ष नपुगेकाले एक सय ७६ मुद्दा बाँकी रहेको जिल्ला अदालत मकवानपुरका रजिष्टार केशवराज कौशिकले बताए ।

सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको रजिष्टार केशवराज कौशिकले बताए । साथै, गतआवमा आठ पुनरावेदन परेकोमा चार मुद्दा फस्र्योट भई चार बाँकी रहेको उनले बताए ।

दुई बर्ष भन्दा बढीको मुद्दा नरहेको जिल्ला अदालतमा डेढ बर्षदेखि दुई बर्षसम्मका १७, एक बर्षबढीको थुनुवा मुद्दा चार, एक बर्षदेखि डेढ बर्षसम्मका सरकारवादी फौजदारी मुद्दा १२ वटा रहेको अदालतले जनाएको छ । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीले आगामी चौथो पञ्चवर्षिय योजना(२०७६–८१)को बिशेषताबारे जानकारी गराएका थिए ।