कांग्रेस मकवानपुरद्वारा ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई ७५ हजार सहयोग

गुगलपाटी संवाददाता मार्खु
८ श्रावण २०७६ ११:४१

गत असारको अन्तिम शाता अविरल वर्षातपछि गएको बाढीपहिरोबाट मृत्यु भएका ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बुधबार राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गर्नुभएको हो ।

गत असार ३० गते अविरल वर्षाको कारण ईन्द्रशरोबर गाउँपालिका १ टौमाटकी एकै परिवारका आमा ४२ वर्षिया कान्छी रञ्जितकार र छोरी १७ वर्षिया बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहतस्वरूप सहयोग गरिएको हो ।

त्यसैगरी बुधबारै कांग्रेस मकवानपुरले ईन्द्रशरोबर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार राहतस्वरूप रकम सहयोग गरेको छ ।
त्यसैगरी ईन्द्रशरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ ।

त्यस्तै ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रशरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रशरोबर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा ११ सभापति विष्णु खनाल, महिला संघ ईन्द्रशरोबर संयोजक निर्मला रुम्बा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, स्थानीय समाजसेवीहरु कुलबहादुर केवी, कृष्ण बलामी, अच्युत विष्ट, नबिना बलामी, राजकुमार घिसिङ, मंगलदाश गोलेलगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिने निर्णय अनुसार यसअघि मंगलबार थाहा ३ को बलामी परिवारलाई राहत दिईएको हो ।

कार्यक्रमपछि केन्द्रीय सदस्य डिना तथा कांग्रेसका नेताहरुले ईन्द्रशरोबर गाउँपालिकामा बाढीपहिरोबाट क्षति भएको स्थानको निरिक्षण गर्दै भएको तत्काल क्षति भएकाहरुलाई तत्काल राहात उपलब्ध गराउन आग्रह गर्नुभयो ।

अविरल वर्षाका कारण ईन्द्रशरोबर गाउँपालिका १ मा ६२ घर पूर्ण क्षति र १०७ घर आंशिक क्षति भएको वडा अध्यक्ष जमानसिं वाईबाले बताउनुभयो । वडा अध्यक्ष वाईबाले पीडितहरुलाई तत्काल राहत सहयोग उपलब्ध गराउन सबैपक्षसंग आग्रह गर्नुभयो ।