औचित्य पुष्टि हुन नसकेको शसस्त्र जनयुद्ध

गुगलपाटी संवाददाता सुजन देवकोटा
१५ श्रावण २०७६ ०५:३३

नेपाली राजनीतिमा कुनै समय यस्तो थियो जतिबेला सत्ताको चावी लिनेहरूका बारेमा चुक्क बोल्न पनि पाइँदैनथ्यो । जसले उनीहरूको बारेमा चुक्क गर्थो उसको ज्यान खतरामा हुन्थ्यो ।

जनताले आफ्नो अधिकार लिन पनि धेरै खुड्किला पार गर्नु गर्थ्यो । आफ्नो मनमा लागेका कुरा सिधै सम्बन्धित पक्षसँग राख्न पाउँदैनथे । सञ्चार माध्यमामा बोल्दा र अखबारका पानामा समाचार लेख्दा धेरै पटक सोच्न बाध्य हुन पर्थ्यो ।

त्यस्तै अवस्थाको अन्त्यका लागि हजारौँ नेपालीले आफ्नो बलिदानी दिए र हजारौँ अंगभंग भएर लोकतन्त्र/गणतन्त्र सम्मको अवस्थामा देशलाई ल्याइपुर्याइयो । गरिब र दीनहीन जनताको अवस्था ज्यादै नाजुक थियो । जातभातका आधारमा गरिने भेदभाव चरमोत्कर्षमा पुगेको थियो । हलिया प्रथा र नोकर चाकरको व्यापक प्रयोग हुने गर्थ्यो ।

त्यस्तो किसिमको शासन व्यवस्थाले निराश भएका जनताका लागि परिवर्तित नयाँ शासन व्यवस्थाले केही परिवर्तन ल्याउन जरुरी नै थियो । तत्कालीन संसदबादी दलको शासन व्यवस्था र नेपालबाट राजसंस्थाको अन्त्य गर्नको लागि भनेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालदेखि जनयुद्धका नाममा सशस्त्र युद्धको घोषणा गरेर भूमिगत राजनीतिको बाटो समात्यो ।

जसका लागि उसलाई जनताले व्यापक साथ र समर्थन पनि गरे त्यसै क्रममा सत्र हजार भन्दा बढी होनाहार नेपाली जनताले आप्mनो ज्यान देशका लागि अर्पण गरे र केहीले सहिदको परिचय पनि बनाए ।

त्यसै क्रममा बेपत्ता भएका हजारौँ मानिस अझै पनि बेपत्ताको सूचीमा नै छन् । ५२ सालदेखि ६२ सालसम्म सँगै लडेको तत्कालीन अवस्थाको माओवादी अहिले क्षतबिक्षत भइसकेको छ । उसले जुन उद्देश्यका लागि बन्दुक उठाएको थियो ती सबै कुरा प्राप्त भएकै छैनन् ।

माओवादी पार्टी जति टुक्रा भएपनि उसले आन्दोलन थाल्दा जसले उक्त पार्टीको नेतृत्व गरेको थियो गत वर्षको जेठमा तत्कालीन एमालेसँग पार्टी एकता हुँदासम्म पनि उक्त पार्टीको नेतृत्वमा सोही व्यक्तिको निरन्तरता थियो र अहिले नेकपा नामको पार्टी भए पनि सो खेमाको नेतृत्वमा उनै व्यक्ति वा प्रचण्ड नै छन् ।

कुन अवस्थाको पार्टी कुन अवस्थामा पुग्यो भन्ने आप्mना आँखाले देख्दादेख्दै पनि अध्यक्षको कुर्सी समातेर मात्रै बस्ने तर पार्टी बचाउन तर्फ पटक्कै नसोच्ने, पार्टीभित्रका अन्य नेताको कुरा सुनेको नसुन्यै गर्ने जस्ता नेतृत्वको कमजोरी भएको हुनाले उक्त पार्टी सकिएको हो र अहिले त्यो पार्टीको अस्तित्व नै मेटिन पुगेको हो ।

त्यतिसम्म कमजोर भइसकेको पार्टी टुक्रिएरै सकिन लागेपछि अहिले पार्टीको अस्तित्व जोगाउन भन्दा पनि अप्mनै अस्तित्व बचाउनको लागि पार्टीलाई कसैको शरणमा जिम्मा लगाएर आफू त्यसको छाता बनेको मात्रै हो यतिबेला ५२ सालको माओवादी नै सकिएको अवस्था हो ।

प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको पहिलो कार्यकाल उनकै अविश्वासको प्रस्तावमा सकियो । त्यतिबेला तत्कालीन संसदमा प्रचण्ड र ओलीका बीचमा राजनीतिक जुहारी नै चलेको थियो ।

त्यसबेला मात्रै होइन त्यस भन्दा पहिले र पछि पनि पटक पटक प्रचण्ड र ओलीका बीचमा एक अर्काले एक अर्काप्रति गर्ने टिका टिप्पणीलाई हेर्ने हो भने यिनीहरू कहिल्यै पनि एक ठाउँमा उभिन सक्दैनन् भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो र अहिले पनि भित्री मनदेखि ओली प्रचण्डको मिलन छ जस्तो अनुभूत त हुँदैन तै पनि यतिबेला उनीहरू एक घारका दुई रानो जस्तै बनेका छन् ।

२०७४ सालमा सम्पन्न भएका तीन चरणको निर्वाचन अगावैदेखिको चुनावी गठबन्धनले निर्वाचन पछि पार्टी एकताको रूप ग्रहण गर्थ्यो । गठबन्धनसम्मले चुनावी नतिजा हातपार्ने रणनीति मात्रै हो भन्नेलाई पार्टी एकताले केही झस्कायो यस्ता कटु सत्रु पनि कसरी मिले र कसरी मिलेर जान सक्लान् भन्ने शङ्का पनि उब्जायो ।

त्यस लगत्तै नेपाली राजनीतिको बाटो मोडियो । धेरैलाई खुशी बनाएको नेकपाको गठन प्रक्रियाले भित्रभित्रै निराश बनेकाहरू पनि छन् तर उनीहरू गुम्सिएरै भएपनि पार्टीभित्रै बस्न बाध्य छन् । कतिपयले त सार्वजानिक रूपमै आफ्नो असन्तुष्टि पोख्दै पनि आइरहेका छन् । तत्कालिन वाम एकतालाई धेरैले अकस्मात भएको भने पनि सम्बन्धित पार्टीका जिम्मेवार नेताहरूले त्यसलाई लामो समयसम्म गरिएको परिश्रम पछिको सफलता हो भन्छन् ।

तर त्यो लामो समय भनेको कति पहिलेदेखिको हो यकिन छैन । या त माओवादी जङ्गलमा छँदैदेखिको एकता प्रयास हो या त ६२/६३ पछिको हो या केपी ओलीलाई प्रधानमन्त्री बनाउँदादेखिको प्रयास थियो अथवा तत्कालीन चुनावमा प्रचण्ड ओली दुवैले हार्ने देखेर तत्कालै भएको यो एकता हो ।

नेकपा गठनका लागि कति समय लाग्यो त्यसको यकिन छैन र त्यो कुराको पनि यकिन थिएन कि चुनावपछि उनीहरूले भनेजस्तो पार्टी एकता हुन्छ भन्ने ज्ञारेन्टी नै त थिएन नै तर बाम गठबन्धनको पक्षमा बहुमत आउने लख भने काटिएको थियो ।

जब ५२ सालको नेपाल कमुनिष्ट पार्टी माओवादी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी हुँदै माओवादी केन्द्रको नामबाट एमालेमा विलय भयो त्यपछि दस वर्षे युद्दको औचित्य समाप्त भयो । युद्ध लडेर आएकाहरू जो अहिले माओवादीसँग निकट रहन सकेका थिएनन् उनीहरूले आफूले आफैँलाई धिक्कार्ने सम्मको अवस्था आयो । के यसकै लागि थियो हामीहरूको त्याग र बलिदान ?

देशको संसदीय प्रणाली र शासन व्यवस्थामा आमूल परिवर्तन गर्नको लागि भनेर दसवर्षसम्म सशस्त्र युद्धमा होमिएको माओवादीको उद्देश्य के थियो ? आज उनीहरूले लिएको लक्ष्य कति पूरा भयो ? उनीहरूले गर्छौँ भनेका कुराहरू कति पूरा गरे ? त्यतिका होनाहार नेपाली जनताको रगतको आहालमा पौडी खेलेर केके उपलब्धि हासिल गरे ? युद्ध कालभरिमा बेपत्ता पारिएका ती हजारौँ बेपत्ता नेपाली कहाँ छन् ? यस्ता थुप्रै प्रश्नहरूको उत्तर नेपालीहरूले खोजिरहेका थिए तर ती प्रश्नहरूको उत्तर दिने कोही भएनन् ।

यस्तै प्रश्न अनुत्तरित भएकै बेला एमालेसँग पार्टी एकता गर्नुले ती महान् सहिद तथा उनीहरूको परिवारले देखेको सपना अब पूरा होलान् ? यस्ता प्रश्नको जवाफ त्यो बेलाका कुनै पनि माओवादीसँग छैन अहिले उनीहरू जुन जुन हैसियतमा भएपनि त्यसको जवाफ दिन उनीहरू सबैको उत्तिकै भूमिका हुन जान्छ तर त्यसमा तयार कोही देखिँदैनन् ।

तत्कालीन संसदीय व्यवस्थालाई नराम्रो देख्नु, सर्वहारा जनताको पार्टी भनेर जनतालाई आन्दोलनमा होमिन बाध्य पार्नु र अहिले तिनै जनतामाथि लात मारेर आफ्नै रफ्तारमा पार्टीलाई अधिनायक शैलीमा अगाडि बढाउँदै लगेर एमालेलाई सुम्पनुले यस्तो लाग्छ कि प्रचण्डको एकमात्रै लक्ष्य सत्ता प्राप्त गर्नु नै थियो ।

यदि त्यस्तो हुँदैन थियो भने उनको पार्टीले सरकारमा बसेर पूरा गर्न नसकेको माग सडक र संसदबाट पनि पूरा गराउन सक्थ्यो, तर यो पार्टीले सत्ताको पोखरीमा नकबुडी हालेपछि ती सबै कुरा भुसुक्कै बिर्सियो । आफूले उठाएका हरेक कुरालाई एकपछि अर्को गर्दै पछाडि छोड्दै ऊ निकै अगाडि आइसक्यो । पार्टीका एजेण्डा जति जति छोडिँदै आए उति उति माओवादी पनि टुक्रँदै आयो ।

अरुको बिचार पार्टीमा लादियो भने नेतृत्व पछाडि पर्ने मानसिकताले गर्दा प्रचण्ड, बैद्य, बाबुराम र विप्लवहरू एकै ठाउँमा अटाउन सकेनन् । आफू बलियो हुँदासम्म अरुको साथ नचाहिने आपूm छेउबाट लड्नै लागेपछि अरुको हात समाउन खोज्ने प्रचण्डको पूरानै राजनीति शैली हो उनी पहिल्यैदेखि कहिले बैद्यलाई समाउँथे त कहिले बाबुरामलाई समाउँथे । पछिल्लो समय बैद्य, बाबुराम दुबैको साथ नपाएपछि नयाँ सारथीको खोजिमा उनी ओलीका सामु पाउ परेका हुन् यसको अन्य कारण अरु केही होइन ।

सत्ता प्राप्तिकै लागि यत्रो खेल खेलिएको हो भने यो तत्कालीन माओवादीको नेतृत्वलाई ज्यानमाराको रूपमा उभ्याएर आवश्यक प्रकृया चलाए पनि हुने देखिन्छ । प्रचण्डले पार्टी एकताका बेला भनेका थिए, ‘मदन भण्डारी छँदैमा एमालेसँग पार्टी एकीकरण गर्ने कुरा भएको थियो ।’ यदि युद्धमा जानुभन्दा अगाडि नै पार्टी एकता हुने कुरा भएको थियो भने मदन भण्डारी पछि एमालेको नेतृत्वमा आएका माधव कुमार नेपालले पार्टी एकता हुन नदिएका थिए त ? या मदन भण्डारीको मृत्युपछि यो एकताको कुरा नै भएन ? प्रचण्डको यो एउटै बानी छ उनी प्रायः जसो मरिसकेका नेताहरूसँग यस्तो र उस्तो सहमति भएको थियो अथवा उनीहरूले आफूलाई यस्तो भनेका थिए भनेर भन्ने गर्छन् ।

प्रचण्डको त्यस्ता भनाइलाई आधार मान्ने हो भने माओवादीको त्यत्रो विध्वंसात्मक सशस्त्र युद्ध त एमालेसँग पार्टी एकीकरण गर्नकै लागि पो रहेछ भन्ने पर्न जान्छ । माओवादीको उदयदेखि अहिलेको नेकपासम्मको यात्रालाई हेर्ने हो भने सिङ्गो पार्टीको नाम मुछ्नु भन्दा पनि प्रचण्ड एक्लैको नाम आउँछ । र उनको एकल स्वार्थले पार्टीलाई गाँजिरहेको देखिन्छ र प्रचण्डलाई स्वार्थ पूर्तिका लागि जोसुकैसँग पनि टाँसिन जाने जुगोको उपमा दिन सकिन्छ । जसले जति गरे आफ्नो र परिवारको लागि मात्रै गरे जुन कुरा पछिल्लो समयको पारिवारिक पदीय हैसियतले पनि प्रष्ट पारिदिएको छ । जसलाई युद्धको कमाण्डरको रूपमा चिनिन्छ आज उसैले सोही युद्धको पुष्टि गर्न नसकेर पार्टी नै कतै विलय गराएर आफू चैनको श्वास फेरिरहेको अनुभूत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया