मकवानपुरको भिमफेदी गाँउपालिकामा जग्गा अभावका कारण एक करोड फ्रिज

गुगलपाटी संवाददाता हेटौंडा
१९ श्रावण २०७६ ०५:४१

 भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज भयो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘भीमफेदी बजारस्थित स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवनहरू छन्, ती भत्काएर त्यहाँ नयाँ भवन बनाउन सकिन्थ्यो तर पुरातत्त्व विभागले पुरानो भत्काउन रोक लगायो ।’ भीमफेदी बजारमा विसं। १९६४ मा निर्मित पृथ्वीचन्द्र अस्पताल भवन छ । ०७२ मा भूकम्प जानुअघिसम्म उक्त भवनबाटै स्वास्थ्य सेवा प्रदान दिइँदै आएको थियो ।

भूकम्पले भवन चिराचिरा बनाएपछि भवनबाट सेवा बन्द गरिएको छ । भवन रहेकै स्थानमा वरिपरिका खाली जग्गामा ससाना टहराहरू बनाएरै भए पनि स्वास्थ्य केन्द्रले सेवा सुचारु राखेको छ । जीर्ण भवन भत्काएर अर्को बनाउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको थियो । तर पुरातत्त्वले गाउँपालिकालाई भवन भत्काउन रोक लगायो । ‘पुरातत्त्व विभागका कर्मचारी गाउँपालिकामै आएर पुरातात्विक भवन भएकाले नभत्काउन अनुरोध गरे,’ अध्यक्ष लामाले भने, ‘यो भवन नभत्काएसम्म अर्को बनाउने जग्गा भएन, प्रदेश सरकारले दिएको बजेट फ्रिज भयो ।’ पुनर्निर्माण प्राधिकरणले समेत उक्त भवन जोखिमयुक्त भएकाले तत्कालै भत्काउनुपर्ने गाउँपालिकालाई सुझाव दिएको थियो । स्रोत : कान्तिपुरदैनिक