कार्यलय तोडफोड गरी ११ लाखको चोरी

गुगलपाटी संवाददाता प्यूठान
२४ श्रावण २०७६ ०८:४३

 ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाको ११ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ। सरुमारानी गाउँपालिका- ४ बडडाँडास्थित सहकारीको भवन तोडफोड गरी बिहीबार राति उक्त रकम चोरी भएको हो।

रातिको समयमा कार्यालय भवनको ढोका फोरेर बक्सभित्र राखिएको उक्त रकम चोरी भएको सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले जानकारी गराए।

साँझपख सहकारीमा भएको खरिद बिक्री र रेमिट्यान्सबाट संकलन गरेर राखिएको रकम चोरी भएको उनको भनाइ छ। गाउँपालिका कार्यालय नजिकै रहेको उक्त सहकारीको क्षेत्रमा सीसी क्यामरा र सडक बत्ती समेत जडान गरिएको छ।

बैंकमा इन्टरनेट आउने जाने हुँदा पैसा जम्मा गर्न पाएको थिएनौँ,  खनालले भने, बिहान कार्यालय खोल्दा तोडफोड गरेर पैसा चोरी भएको देखियो। चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।