बंगलादेशमा भीषण आगलागी हुँदा १५ हजार घर जले, ५० हजार व्यक्ति घरबारविहीन
गुगलपाटी संवाददाता एजेन्सीबंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा भएको भीषण आगलागीका कारण ५० हजार व्यक्ति घरबारविहीन भएका छन् ।
शुक्रबार राति लागेको आगोका कारण उक्त बस्तिका १५ हजार घर जलेर नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकांश घरको छानो प्लास्टिकको भएकाले पनि आगोले भयानक रुप लिएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुले उक्त भीषण आगलागीमा परी कयौं व्यक्ति घाइते भएको बताएका छन् । यद्यपी कसैको मृत्यु भएको खबर भने नआएको उनीहरुले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार त्यहा अधिकांश मजदुरहरु बस्दथे जो इद उल अजा पर्वका अवसरमा आफ्नो पैत्रिक क्षेत्रमा गएका थिए ।
अधिकारीहरुले घटनाको सम्बन्धमा जाँच भइरहेको बताएका छन् । तर, आगलागीको कारणबारे अझैसम्म खुलीनसकेको उनीहरुको भनाइ छ ।
उक्त भीषण आगलागी नियन्त्रण गर्नका लागि अग्नि नियन्त्रकलाई कम्तिमा ६ घण्टा लागेको थियो ।
उता सरकारले पीडितहरुलाई सहयोग गरिने बताएको छ । घर जलेर नष्ट भएपछि कयौं व्यक्तिहरु अहिले खुला आकासमुनी रात विताउन बाध्य भएका छन् ।
यसै साल फेब्रुअरीमा ढाकाको एक ऐतिहासिक इलाकामा भएको आगलागीमा परी कम्तिमा पनि ८० जनाको मृत्यु भएको थियो । त्यस्तै चिट्टागाँव शहरमा भएको आगलागीमा ९ जनाको मृत्यु भएको थियो ।
(बिबिसी हिन्दी)