लक्ष्य निर्धारण गरेर काम गर्नुपर्छ: प्रमुख खुलाल

गुगलपाटी संवाददाता
७ भाद्र २०७६ १५:३४

हेटौंडा–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहले लक्ष्य निर्धारण गरेर काम गर्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका–९ द्धारा आयोजित आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको स्वीकृत कार्ययोजना सार्वजनीकीकरण कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले विकासका काम प्रश्स्त गरेको तर, सामाजिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको हो ।

उहाँले समाजमा नकारात्मक कृयाकलापहरु बढ्दै गएको भन्दै सकारात्मक दिशातर्फ समाजलाई लाग्न प्रेरीत गर्ने खालका कामहरु स्थानीय तहमा संचालन हुनुपर्नेमा बताउनुभयो । स्थानीय सरकारले जनतामा सकारात्मक परिर्वतन आउने गरि कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तहहरुले लक्ष्य निर्धारण गरेर काम गर्नुपर्ने प्रमुख खुलालको भनाई थियो । सभ्य समाज निर्माणमा सबै लाग्नु पर्ने प्रमुख खुलालले बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले धेरै प्रेरणाका कामहरु गरेको भन्दै उहाँले अझै धेरै काम गर्नुपर्ने औल्याउनुभयो । ९ नम्बर वडाको सकृयता र काम गर्ने शैलीले अन्यलाई समेत प्रेरणा मिलेको भन्दै उहाँले ९ नम्वर वडा कार्यालय परिवार र सम्पुर्ण वडावासीलाई बधाई समेत दिनुभयो । उहाँले अहिले स्थानीय सरकारले नेपालको गर्विलो ईतिहासलाई संरक्षण गर्न स्थानीय सरकार लाग्नु पर्ने समेत बताउनुभएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले नगरको समग्र विकासमा ध्यान दिएको र त्यसलाई साकार पार्न वडा अध्यक्षहरुले साथ दिएको बताउनुभएको छ । उहाँले सबै वडा अध्यक्षहरुले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत आवश्यक्तालाई ध्यानमा राखेर योजना बनाउनुभएको भन्दै सोहि अनुसार काम अगाडी बढेको बताउनुभएको छ । हेटौंडाका १९ वटै वडा “स्वस्थ वडा, सुखि वडा” वनाउनमा वडाअध्यक्षहरु देखाउनुभएको सकृयताको प्रशंसा गर्नुभयो । कार्यक्रममा ९ नम्बर वडाले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रमहरु तथा चालु आर्थिक वर्षमा संचालन गर्ने योजनाहरुका बारेमा जानकारी दिईएको थियो ।

समिक्षा कार्यक्रमकै अवसरमा वडा कार्यालयलाई विभिन्न तरिकाले सहयोग गरेको भन्दै टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा र रेडीयो नेपालका मकवानपुर संवाददाता बिवश अधिकारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । त्यस्तै २०७५ को एसईईमा जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल प्रगति माविका प्राचार्य निरञ्जन ढकाल, शिक्षकहरु ज्याती न्योपाने, श्रीकृष्ण प्याकुरेल, प्रह्लाद सापकोटा र मञ्जु खनाललाई समेत समान्न गरेको थियो । वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुकराम केसी, लक्ष्मी नेपालीलगायत वडा स्तरीय राजनीतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।