छोनाम न्वाँगीमा विदा दिन चेपाङ समुदायको माग
गुगलपाटी संवाददाताचेपाङ समुदायहरुको महान पर्वको रुपमा रहेको छोनाम न्वाँगी पर्वमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिन पर्ने चेपाङ अगुवाहरुले बताएका छन् । नेपालमै मकवानपुर, धादिङ र चितवन क्षेत्रमा रहेका चेपाङहरुको सम्मानमा सार्वजनिक विदा दिनुपर्ने चेपाङ संघका पुर्व केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्द चेपाङले बताए । उनले चेपाङहरु आर्थिक र सामाजिक रुपमा पछाडी परेको हुँदा चेपाङको पर्वलाई प्रदेश सरकारले उत्सवको रुपमा मनाएर चेपाङ जातीको मनोबल बढाउनुपर्ने भएता पनि विदा नदिएकोमा दुख लागेको बताए ।
चेपाङ बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २२ गते आइतबार चेपाङ जातिको छोनाम न्वाँगीको अवसरमा गाउँपालिका भरी सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले छोनाम न्वाँगी पर्व मनाउन गाउँपालिका भरी सार्वजनिक विदा दिएको बताएका हुन् । राक्सिराङ गाउँपालिकाको ३० हजार जनसंख्या मध्ये १३ हजार भन्दा धेरै जनसंख्या चेपाङ जातीको रहेको छ ।