हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, संविधानको कार्यान्वयन गर्ने क्रममा छौं : मुख्यमन्त्री

गुगलपाटी संवाददाता
३ आश्विन २०७६ ०५:०१

हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो ।


बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँ सहितको उपस्थितीमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको कार्यान्वयन गर्ने क्रममा रहेको बताउँदै संविधान मार्फत राजनीतिक अधिकार प्राप्तिको मुद्धालाई सम्बोधन गरिसकिएको बताएका छन् । उनले नेपाल र नेपाली गन्तब्य प्रष्ट भएको बताउँदै अब अधिकारका लागि लड्नु नपने बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले गरेका सम्बोधन (पुर्णपाठ)
“नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट सम्बत् २०७२ साल असोज ३ गते संविधान जारी भएको उपलक्ष्यमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ हर्षोल्लास साथ मनाउन उपस्थित भएका छौ । आजैका दिनदेखि नेपालको संविधान जारी भएको चौथो वर्ष पूरा भई पाँचौ वर्ष प्रवेश गरेको छ ।यस अवसरमा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ऐतिहासिक संविधानसभाको निर्वाचन मार्फत जनताद्धारा निर्वाचिन प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने नेपालीहरुको सदियौंदेखीको सपना पुरा भएको दिन सदा महत्वपुर्ण र अविस्मरणीय छ ।
यस अवसरमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ऐतिहासिक आन्दोलनहरुमा शहादात प्राप्त गर्नुहुने सम्पूर्ण शहीद तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु सरकारको परम कर्तव्य हुने ठानेकोछु । तसर्थ लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।साथै शहीदहरुका सपना पुरा गर्न अविराम अविचलित भई लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
वर्तमान संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरी स्वीकार गरेको छ । त्यसैगरी हाम्रा विविधताबीचको एकता, सामाजिक एवम् सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प समेत लिएको छ ।
त्यसैगरी नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको छ । यस अर्थमा विश्वका धेरै मुलुकहरुका संविधान मध्ये हामो संविधान उत्कृष्ट संविधान रहेको कुरामा विश्वस्त रहेको छु ।
नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गर्दै यो संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई अक्षुण्ण राखेको छ । विशेष गरी संविधानले राज्यका मार्ग निर्देशक सिद्धान्तका रुपमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरी राख्दै नागरिक समानता र स्वतन्त्रताको संरक्षण गरी लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने उद्देश्य लिएको छ । संघीय राज्य प्रणाली मार्फत राष्ट्रिय एकता सुदृढीकरण गर्न र सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा दिगो आर्थिक विकासको लक्ष हासिल गर्न संविधानले मार्ग प्रशस्त गरेको छ ।
नेपालको संविधानले सदियौदेखिको एकिकृत राज्य संरचनालाई संघीय राज्य प्रणालीमा रुपान्तरण गरेको छ । राज्यका बिभिन्न तहमा सरकारको निर्माण गरी शासनको बाँडफाँट गर्ने र निक्षेपणका माध्यमबाट जनतालाई बढीभन्दा बढी शासनमा सहभागी गराउने उद्देश्यले संविधानको अनुसूचीहरुमा बिभिन्न तहका सरकारका एकल र साझा अधिकारका सूचीहरु निर्धारण गरिएका छन् । त्यसैगरी संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेको छ ।
यस क्रममा संविधानले परिकल्पना गरे बमोजिम तीनवटै तहको कार्यकारिणी र विधायिकी निकायको गठन भएको पनि डेड वर्ष पुग्न लागेको छ । संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनका लागि संघीय संसदले आवश्यक कानूनहरुको निर्माण गरिसकेको छ भने प्रदेश सरकार र स्थानीय तहहरुले समेत आ–आफ्नो अधिकार सूची भित्रका विषयहरुमा कानून निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने कामलाई प्राथमिकताका अगाडि बढाइ काम गरिरहेका छन् । नेपालको सन्दर्भमा संघीय राज्य प्रणाली अवश्य नै नयाँ प्रयोग हो तथापि यसको सफल अभ्यास मार्फत जनतालाई यथासम्भव उनीहरुको घर दैलो निकटबाट सेवा र विकासको प्रवाह गर्ने, प्रत्येक नागरिकलाई आफ्नो विकासको आवश्यकताको छनौट गर्ने अवसर प्रदान गर्ने, निक्षेपणको माध्यमद्वारा अधिकारको विकेन्द्रीकरणलाई जनस्तरसम्म पुर्याउने र सरकारका तहहरुबीचको स्वस्थ्य प्रतिष्पर्धा मार्फत संमृद्धिलाई सुनिश्चित गर्ने जस्ता विश्वव्यापी मान्यताहरुलाई सार्थक तुल्याउन सरकारसँगै सबै राजनीतिक दल, निजीक्षेत्र, सहकारी, सामाजिक संघसंस्था र नागरिक समाजले हातेमालो गरी सहकार्यका साथ अघि बढ्नु अहिलेको आवश्यकता भएको छ ।


संविधान देशको मूल कानून हो । यसैका आधारमा हामीले हाम्रा ऐन कानून तर्जुमा गर्ने र विद्यमान कानूनलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेका छौं । संविधानले मार्ग निर्देश गरेका मूलभूत मान्यतालाई आत्मसात गर्न सकियो भने मात्रै हामीले संमृद्ध नेपाल र सुखी नेपाली भन्ने आदर्शलाई सम्भव बनाउँदै आफ्नो जीवनशैलीलाई रुपान्तरण गर्न सक्छौ ।तसर्थ हाम्रा क्रियाकलाप, कार्यशैली र व्यबहारको सकारात्मक रुपान्तरण पनि आजको टड्कारो आवश्यक्ता हो । संविधान यथार्थमा साध्य होइन साधन मात्र हो । यसले सभ्य, सुंस्कृत र एउटा आदर्श समाज निर्माणका लागि मार्गदर्शन गर्दछ र ती मार्गदर्शनहरुलाई आत्मसात गर्न सकियो भने मात्र हामीले समृद्ध राष्ट्र निर्माण गर्ने र सम्मानसाथ जीवनयापन गर्ने लक्ष पूरा गर्न सक्दछौ ।
हामी अहिले संविधानको कार्यान्वयन गर्ने क्रममा छौ । संविधान मार्फत राजनीतिक अधिकार प्राप्तिको मुद्धालाई सम्बोधन गरिसकिएको छ । नेपाल र नेपाली गन्तब्य प्रस्ट भएको छ ।अब हामीले अधिकारका लागि लड्नुपर्नेछैन । बलिदानीपुर्ण संघर्ष गर्नुपर्ने छैन । समृद्धिका लागि पसिना बगाउनुपर्नेछ । पसिना र पौरखले देशलाई बनाउने समय आएको छ । यो सानो देश होईन । यो गरिब देश होईन । यो सतिले सरापेको देश होईन । यो देश उत्साह र जाँगर मरेको देश होईन । यो देश ज्ञान भुमि हो । शान्तिभुमि हो । यो कला, सम्पदाले भरिपुर्ण साँस्कृतिक पुञ्जहरुको देश हो । यो देश उत्साह र जाँगरले भरिएका कर्मठहरुको देश हो । पौरखीहरुको देश हो । आत्मश्विासले भरिपुर्ण नौजवानहरुको देश हो । अव यो देशमा कोही भोकै र नाङ्गै बस्नु पर्दैन । तीनै तहका सरकार नेपाली जनताको सुख र समृद्धिप्राप्तिका लागि गठन भएका हो । संविधान दिवसको यस अवसरमा अपिल गर्न चाहान्छु, हीन भावनाबाट उठौं, यो देश बन्छ । बनाउन सकिन्छ । यसका लागि संविधानले हामीलाई मार्गप्रशस्त गरेको छ । हिजो राजनीतिक आन्दोलनको मार्चामा टाउकोमा कफन बाँधेर उत्रिएका युवाहरु, परिवर्तनका लागि मसाल बोकेका युवा हातहरु, बिद्रोहमा उठेका मुठ्ठिहरुलाई देश निर्माणको अभियानमा जोड्न सक्दा मात्र सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्न सकिन्छ । कतार बनाउने, मलेसिया बनाउने पौरखी युवाको जगमा यो देशलाई उठाउन सकिन्छ, चिनाउन सकिन्छ । यसर्थ देशभित्रै उद्यम ब्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन, हातमा सिप र पाखुरीमा बल भरिएका युवाहरुलाई निर्माण अभियानको जिम्मेवारी, अदक्ष, अर्धदक्ष युवाहरुको सिप र क्षमता विकास लगाएतका कार्यक्रमहरुमा प्रदेश नं ३ सरकारले जोड दिएको छ ।
अरुलाई दोष लगाएर पञ्छिन अब हामी संग ईतिहासका राजा महाराजाहरु छैनन्, अब त्यो छुट छैन । यसर्थ यो देश हामीले नै बनाउने हो । आजको यो क्षणसम्म आइपुग्दा हामीले आफैद्वारा निर्माण गरिएको संविधान मार्फत आफू शासित हुने लोकतान्त्रिक पद्धतिलाई स्थापित गरिसकेका छौ । अब हामी सबैको मेहनत राष्ट्र निर्माण, सुशासन र समृद्धिको लागि हुनुपर्दछ । तसर्थ आजको यस संविधान दिवसले सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा संविधान प्रतिको आस्था र सम्मान अभिबृद्धि गर्न थप प्रेरणा प्रदान गरोस भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।
वर्तमान संविधानको एउटा महत्वपुर्ण उपलब्धि संघियता हो । नेपाली जनताले पटकपटक ठुलठुला राजनीतिक क्रान्तिहरु सम्पन्न गरे । राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना, पञ्चायति ब्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रतिस्र्धात्मक ब्यवस्था हुँदै हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा आईपुगेका छौं । विगतमा ब्यवस्थाहरु बदलिए पनि जनताले परिवर्तनको अनुभुति गर्न सकेनन् । अहिले पनि ब्यवस्था त बदल्यौं तर जनताको अवस्था बदल्ने चुनौति हाम्रो सामु छन् । यि चुनौति सामाना गर्नेक्रममा हामीले प्रदेश सरकारकोतर्फबाट विभिन्न प्रयत्नहरु गरेका छौं । संघीयता कार्यान्वयनको सवालमा प्रदेश तहमा प्रदेश सरकार गठन भई कार्य आरम्भ गरेको १७ महिना पूरा भएको छ । यसबीचमा सरकार सञ्चालन र व्यवस्थापनका लागि आवश्यक नीति नियम, पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालन भइसकेको छ । हामीले सरकारको अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बार्षिक बजेट कार्यान्वयन गरिसकेका छौ । उद्यमशिलताको विकास बिना राष्ट्रिय पुजींको निर्माण हुन सक्दैन । देशभित्रै संम्भव भएका चिज वस्तुहरुको उत्पादनलाई प्राथमिकता दिैंदै क्रमश आयातलाई निरुत्साहित गर्र्दै जानु आजको आवश्यकता हो । एकातिर कृषिमा आधारित देश भनिने, अर्कोतर्फ बर्षेनि अर्बौ मुल्यको कृषिजन्य उपज आयात गर्नुपर्ने विडम्बनापुर्ण वर्तमानलाई जतिसक्दो छिटो अन्त्य गर्नुपर्छ । उद्योग र औधोगिक विकास बिना रोजगारी श्रृजना हुन सक्दैन । उद्यमशिलताको बिकास र प्रर्वद्धनबाट नै हजारौं युवालाई रोजगारीका लागि अवसरको ढोका खोल्न सकिन्छ । यहि तथ्यलाई मध्यनजर गर्दै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमहरु अगाडि सारेको छ । त्यसैगरी प्रदेश तहबाट निर्माण गर्नुपर्ने कानूनको पहिचान गरी हालसम्म ४५ वटा विधेयक प्रदेशसभाबाट पारित गरिसकेका छौ भने ३८ वटा प्रमाणीकरण समेत भैसकेकको छ । प्रदेश सरकार अन्तरगत मन्त्रालयहरुदेखि १३ वटै जिल्लामा मन्त्रालय अन्तरगत कार्यालय व्यवस्थापन भई सेवा प्रवाहका कार्य अगाडि बढाइएको छ । साझा अधिकार सूचीभित्र रहेका विषयहरुमा कानून निर्माण गर्न नेपाल सरकारसंग समन्वय गरिरहेका छौ । प्रदेश भित्र प्रदेश मन्त्रालय अन्तर्गतका संरचनाहरुलाई सङ्गठन व्यवस्थापन सर्वे गरी सुशासन र विकासमा गति प्रदान गर्न यस वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको छ । स्थापना र कामको दृष्टिले प्रदेश सरकारले शुन्यताबाट थालनी गरेको थियो । जनअपेक्षा अनुसार विकास निर्माण र अन्य रचनात्मक गतिविधि कम भएको वा ढिला भएको भनि नागरिकबाट भएको रचनात्मक सुझाव र प्रतिक्रियाको सदैव सम्मान गर्दछु । “स्वस्थ्य, सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश“ भन्ने सोचका साथ “समृद्ध नेपाल, सुखी नेपाली “ को राष्ट्रिय आकांक्षा पुरा गर्ने नेपाल सरकारको अभियान प्रति प्रदेश सरकार प्रतिवद्ध छ । गतवर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अनुभवले यस आर्थिक वर्षमा योजनावद्ध विकास, सुशासन र नागरिकले अनुभूति गर्न पाउने गरी सकारात्मक परिवर्तनका लागि विकास निर्माणका कामहरुले तीब्र रुपमा गति लिने व्यहोरा समेत यस सभा मार्फत जानकारी गराउन चाहान्छु ।
अन्तमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन आयोजित यो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको मैले अनुभूति गरेको छु । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रमको कुशलतापूर्वक समन्वय गर्यो । यो कार्यक्रमलाई सफल बनाउन मूल समारोह समिति अन्तर्गत गठन गरिएका सबै उपसमितिहरुको योगदान उल्लेखनीय रह्यो।संविधान दिवसकै उपलक्षमा विविध क्रियाकलापहरु सम्पन्न गरिए ।यस्ता क्रियाकलापहरुले संविधानको प्रचार प्रसार, स्वामित्वबोध, संविधानप्रति सम्मान र निष्ठा बढाउन थप योगदान गर्दछ भन्ने मेरो विश्वास छ । प्रदेशवासीहरुको स्वस्फूर्त र उल्लेख्य सहभागिताले कार्यक्रमलाई उल्लास मय तुल्याउन मद्धत गरेको छ । तसर्थ संविधान दिवसको यो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न भूमिका निर्वाह गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सभाका माननीय सांसदहरु, मूल समारोह समिति अन्तर्गतका बिभिन्न उपसमितिहरु, जिल्ला समन्वय समिति, हेटौडा उपमहानगरपालिका, सबै राजनीतिक दल र राजनीतिक दलका भातृ सङ्गठनहरु, कलेज तथा विद्यालयहरु, सरकारी कार्यालयहरु र सुरक्षा निकाय लगायत प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबै संघ संस्था र ब्यक्तिहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । साथै यस समारोहमा स्वस्फूर्त रुपमा उपस्थित भएर हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएकोमा यहाँ उपस्थित सम्पूर्ण नगरवासीहरुमा हार्दिक धन्यवाद दिंदै यो कार्यक्रम यहि समापन भएको व्यहोरा निवेदन गर्दछु ।”
धन्यबाद