विप्लव समुहका सेक्रेटरी पक्राउ

गुगलपाटी संवाददाता बाग्लुङ
८ आश्विन २०७६ १०:४५

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी बाग्लुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।

कुँवरलाई मंगलबार दिउँसो बडिगाड गाउँपालीका–५ रेमी स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका कुँवरलाई मंगलबार हरिचौर प्रहरी चौकीमा राखी बुधबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पक्राउ परेका कुँवरलाई अदालतबाट म्याद थप गरी आवश्यक नुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।